काँकरभिट्टा । मेचीनगर नगरपालिकाले समाधिस्थल मासेर सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) राख्न लागेको भन्दै स्थानीय किरात राई समुदाय आन्दोलित बनेको छ । बीओपी निर्माणका लागि नगरपालिकाले पाँच दिनअघि समाधिस्थलमा डोजर चलाएको थियो ।

मेचीनगर ६ काँकरभिट्टास्थित मेची पुल दक्षिणतिर रहेको समाधिस्थललाई नगरपालिकाले बुधबार भत्काएपछि स्थानीय किरात समुदाय आक्रोशित बनेको थियो । विरोधमा किरात राई यायोक्खालगायत संस्थाले मेचीनगरका मेयर विमल आचार्यलाई ज्ञापनपत्र बुझाएका थिए ।

किरात राई यायोक्खा झापाका सचिव केवलराम राईले सरोकारवालाहरूसँग छलफल नै नगरी धार्मिक आस्थामाथि नगरपालिकाले डोजर चलाएको आरोप लगाए । उनले भने, ‘नगरको यो निन्दनीय कार्यप्रति हाम्रो खेद छ ।’ नगरपालिकाले नियोजित रुपमा समाधिस्थल मासेर सशस्त्र प्रहरी राख्न लागेको आरोप यो समुदायको छ ।

घटनापछि नगरप्रमुख विमल आचार्यले विज्ञप्ति प्रकाशित गर्दै दुःख व्यक्त गरेका छन् । मानवीय समवेदनासँग जोडिएको यस किसिमको संरचना भत्काउने, नष्ट गर्ने कहीँ-कतै नगरपालिकाको मनसाय नरहेको विज्ञप्तिमा उनले जनाएका छन् ।

यसैबीच किरात समुदायले डोजर लगाएको क्षेत्रमा आइतबार क्षमा पूजा गरेर बारघेरा लगाएको छ । नेपाली कांग्रेसकी नेता उषा गुरुङले किरात समुदायको समाधिस्थललाई संरक्षण गरेर पार्कको रुपमा विकास गर्न नगरपालिकालाई सुझाव दिइन् । गुरुङले भनिन्, ‘जातीय, धार्मिक क्षेत्रहरुलाई स्थानीय सरकारले संरक्षण गर्नुको साटो विध्वंस गर्नु लज्जाजनक हो ।’