ताप्लेजुङ । कोरोना संक्रमितको संख्या र मृत्युदर बढेपछि उद्योग वाणिज्य संघ ताप्लेजुङले सोमबार बिहानैदेखि सदरमुकाम फुङलिङका पसल बन्द गराए ।

संघको आइतबार बसेको बैठकले सोमबारदेखि एक सातासम्म बजार, पसल, होटललगायत व्यापार–व्यवसाय बन्द गर्ने निर्णय गरेको थियो ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । फुङलिङ नगरपालिकाभित्र र पाथिभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङ क्षेत्रमा निषेधाज्ञा लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जारी गरेको आदेशमा वैशाख २० गते बेलुकी ६ बजेदेखि २७ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू हुने उल्लेख छ । निषेधाज्ञा अवधिमा घरबाहिर ननिस्कन स्थानीयलाई आग्रह गरिएको छ ।

सरकारी वा वित्तीय कार्यालयमा अत्यावश्यकबाहेकका सेवा प्रवाह नगर्न निषेधाज्ञामा उल्लेख छ । निषेधाज्ञा जारी भएको क्षेत्रका विद्यालयको परीक्षासहितका गतिविधि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको जिल्ला प्रशासनले जनाएको छ ।

फुङलिङ नगरपालिकामा तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।