बिर्तामोड । झापामा आज एकै दिन तीन जनाको मृत्यु भएको छ । पछिल्लोपटक बिर्तामोडमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हाे ।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका वडा नं ५ की धिमाल थरकी ७३ वर्षिया वृद्धा रहेकी छन् । उनको आज दिउँसो १ः१० बजे घरमै मृत्यु भएको हो । उनलाई हिजो उपचारका लागि अस्पताल लगिएकोमा अस्पतालले संभव नभएको भन्दै फर्काइदिएको थियो ।

दोस्रो लहर शुरु भएयता बिर्तामोडमा नयाँ भेरियन्टबाट पहिलो मृत्यु भएको हो । हालसम्म बिर्तामोडमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १४ पुगेको छ । बिर्तामोडमा आज २० महिला २३ पुरुष गरी ४३ जनामा संक्रमण पुष्टि भएको छ ।

योसहित झापामा आज मात्र कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । आज बिहान काँकरभिट्टाकी एक बृद्धाको घरमै र कनकाइ नगरपालिकाका एक युवकको विराटनगरमा मृत्यु भएको थियो । मृत्यु हुने कूल सँख्या १३८ पुगेको छ ।