झापा । बितेको २४ घण्टाभित्र झापाका ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र दुई महिला रहेका छन् ।

दमकका दुई , मेचीनगरका एक, कनकाईका एक, बिर्तामोडका एक र भद्रपुरका एकजनाको मृत्यु भएको हो । दमक २ र १ नम्बर वडाका २ जनाको मृत्यु भएको हो । दमक वडा नं १ का ५६ वर्षिय पुरुषको आज दिउँसो मृत्यु भएको हो । दमकको कोभिड हस्पिटलबाट बिर्तामोडको बिएण्डसी हस्पिटलतर्फ ल्याउँदै गर्दा बाटैमा दिउँसो ३ बजे मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए ।

उनलाई बैशाख १८ गते संक्रमण पुष्टि भएको थियो । त्यस्तै दमक २ का ७९ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ । योसँगै दमकमा पछिल्लो लहरको कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै बिर्तामोड आज एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका वडा नं ५ की धिमाल थरकी ७३ वर्षिया वृद्धा रहेकी छन् । उनको आज दिउँसो १।१० बजे घरमै मृत्यु भएको हो ।दोस्रो लहर शुरु भएयता बिर्तामोडमा नयाँ भेरियन्टबाट पहिलो मृत्यु भएको हो ।

हालसम्म बिर्तामोडमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १४ पुगेको छ । बिर्तामोडमा आज २० महिला २३ पुरुष गरी ४३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आज कनकाईका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका वडा नं ३ का ४८ वर्षिय पुरुष रहेका छन् । उनको आज विहान विराटनगरको नोवेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई बैशाख १९ गते संक्रमण पुष्टि भएको थियो ।

आज नै मेचीनगर-६ स्थित काँकरभिट्टाकी ५८ वर्षीया कोरोना संक्रमित महिलाको होम आइसोलेसनमा मृत्यु भएको थियो ।
क्यान्सरपीडित ती महिलाको केहिदिन अघि बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा परीक्षण गर्दा एन्टिजेन पोजेटिभ देखिएको थियो । उनको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको थियो । घरैमा बसेकी उनको आज बिहान ६ बजे मृत्यु भएको होे ।

त्यस्तै भद्रपुर ३ का ७० वर्षिय वृद्धको कोरोना संक्रमणबाट हिजो बेलुका मृत्यु भएको छ । बेलुका १०ः३० बजे घरमै उनको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका मनोज भट्टराईले बताए । हिजो संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल लगिएकोमा अस्पतालले फर्काइदिएको थियो । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४२ पुगेको छ ।