डा सागर राजभण्डारी,
कोरोना सङ्क्रमितहरुले मनोबल बढाउनका लागि सबैभन्दा पहिला कोरोना के हो र कसरी सर्छ ? भन्ने बुझ्न आवश्यक हुन्छ ।

कोरोना सङ्क्रमण एकखालको भाइरस इन्फेक्सन हो । अरु भाइरसले जस्तै कोरोना भाइरसले पनि आफ्नो स्वरुपमा परिवर्तन गर्छ । स्वरुप परिवर्तन गर्दा कतिपय भाइरस धेरै आक्रामक भएका हुन्छन् भने केही कम आक्रामक भएका हुन्छन् ।

अहिले परिवर्तन भएर आएको कोरोना भाइरस बढी आक्रामक भएर आएको पाइएको छ । हाम्रो देशमा नै यसबारे अध्ययन भएको छैन, तर विभिन्न देशहरुमा भएका अध्ययनले अहिलेको भाइरस बढी आक्रामक रहेको भन्ने कुराको पुष्टि गरेको छ ।

पहिलो लहरमा, थुकको माध्यमबाट भाइरस सर्छ भनिएको थियो । तर अहिले भाइरसहरु हावाको सतहमा पनि तैरिरहेको हुने भएकाले मानिसमा छिटो सरेको हो भनिएको छ । अहिलेको कोरोना भाइरस सजिलैसँग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले भौतिक दूरी कायम गर्नु एकदमै आवश्यक छ ।

एक अर्कोबीचको दूरी २ मिटर कायम गर्नुपर्छ । अनावश्यक भीडभाडमा जानु हुँदैन । बन्द कोठामा धेरै मानिसहरु बस्नु हुँदैन । घरको वातावरण सफा राख्ने, आफू पनि व्यक्तिगत सरसफाइमा ध्यान दिने लगायतका क्रियाकलाप गर्नुपर्छ । अनावश्यक रुपमा घर बाहिर जाँदै नजाने र जानै पर्ने भएमा भौतिक दूरी कायम गर्न। भुल्नु हुँदैन ।

मास्कको प्रयोग उचित तरिकाले गर्नुपर्छ । आफ्नो दिनचर्यालाई राम्रो र सकारात्मक बनाउनुपर्छ । कोरोना सङ्क्रमित भएकाले भने यी कुराहरुमा अझ धेरै ध्यान दिनुपर्ने हुन्छ । बिहान उठेदेखि नसुतुञ्जेलसम्मको दैनिकी सहज बनाउनुपर्ने हुन्छ ।

हामी बिहान उठ्नेबित्तिक्कै पत्रपत्रिका, रेडियो तथा टेलिभिजनहरुबाट कोरोनाले बनाएको भयावह अवस्था र ज्यान गुमाएकाहरुकाबारे खबरहरु सुन्ने गर्छौँ । यसले गर्दा तनाव हुने, नकारात्मक कुराहरु सोच्ने हुन सक्छ । त्यही भएर कोरोनाको सूचना तथा जानकारी लिँदा विश्वासिलो र सीमित माध्यमको प्रयोग गर्नुपर्छ ।

कोरोना सङ्क्रमण भइसकेपछि जीवन नै बर्बाद भयो, अब के हुने हो भन्ने खालका त्रास मनमा आउन सक्छ । यसले गर्दा डिप्रेसन तथा मानसिक समस्याहरु पनि देखिन सक्छ । कोरोना सङ्क्रमण भएका सबैलाई लक्षण देखिँदैन । सबैलाई गाह्रो हुँदैन । ८० देखि ९० प्रतिशत मानिसलाई सामान्य लक्षण मात्र देखिने भएकाले सकारात्मक कुराहरु मात्र सोच्ने गर्नुपर्छ ।

सङ्क्रमितको मनोबल बढाउन परिवारको भूमिका महत्त्वपूर्ण

सङ्क्रमण हुँदैमा अस्पतालमा नै बस्नुपर्छ भन्ने होइन । घरमा नै एकान्तबासमा बस्न सकिन्छ । घरेलु उपचारहरु गर्न सकिन्छ । अहिले पनि परिवार तथा समाजले कोरोना सङ्क्रमितलाई हेयका दृष्टिले हेर्ने गरेको पाइन्छ । एउटै घरमा बस्दा सर्ने हो कि भन्ने खालका आशङ्का हुन सक्छ । त्यस्ता आशङ्का लिएर सङ्क्रमितलाई हेयका दृष्टिले हेर्दा विचलन आउने, नराम्रा कुराहरु मनमा खेल्ने लगायतका समस्या हुन सक्छ ।

त्यही भएर २ मिटर दूरी कायम गरेर बसेर, काउन्सिलिङ गर्ने, सहयोग गर्ने, सङ्क्रमितको इच्छाअनुसार खानेकुरा बनाएर खान दिने लगायतका कामहरु गरेर कोरोना सङ्क्रमितको मनोबल बढाउन सहयोग गर्नुपर्छ । अर्को व्यक्तिमा रोग नसरोस् भन्नका लागि मात्र सङ्क्रमितलाई आइसोलेशनमा राख्नु परेको हो । सुरक्षित ठाउँ छ भने बगैँचातिर डुल्न सकिन्छ । सामान्य योगाहरु पनि गर्न सकिन्छ । टेलिभिजन हेर्न सकिन्छ । सामाजिक सञ्जालको प्रयोग गरेर जानकारीमूलक कुराहरु सिक्न सकिन्छ ।

परिवारका सदस्यले कोरोना सङ्क्रमितलाई भेदभाव र अपमान गरेमा सङ्क्रमितमा नकारात्मक भावनाको विकास हुन सक्छ । उनीहरुलाई जीवनदेखि दिक्क लाग्न सक्छ । जसका कारण नराम्रो निर्णय गर्ने अवस्थासम्म पुग्न सक्छन्। त्यही भएर परिवारका सदस्यले सङ्क्रमितहरुलाई माया, ममता र सहयोग गर्नुपर्ने हुन्छ ।

नियमित खाँदै आइएको खानेकुरा नै कोरोना सङ्क्रमण भएको बेलामा खाँदा हुन्छ । कोरोना सङ्क्रमितकै लागि भनेर छुट्टै खाना बनाइरहनु आवश्यक हुँदैन । कोरोना सङ्क्रमितले यस्तो खाना मात्रै खानुपर्छ भन्ने छैन । तर जाँडरक्सी, चुरोट खानु हुँदैन । यस्ता चिज खाएमा अरु खालका सङ्क्रमणले पनि च्याप्दै जाने हुन सक्छ ।

बरु रुघाखोकी लागेको बेला हामीले घरमा खाने गरेका तातो झोलिलो पदार्थ खानु राम्रो हुन्छ । अदुवा, बेसार पानी पकाएर खानु पनि स्वास्थ्यका लागि लाभदायक हुन्छ । खानाको साथसाथै नियमित व्यायाम पनि गर्नुपर्ने हुन्छ ।

स्वास्थ्यको हेरचाह कसरी गर्ने ?
सङ्क्रमित भएर आइसोलेशनमा बस्दा हरेक दिन आफ्नो लक्षणको बारेमा ध्यान दिनुपर्छ । ज्वरो आएको कति भयो ? बिहानसम्म कति थियो ? भनेर जाँच गरिरहनुपर्छ । लक्षणहरु थपिएका छन् की छैनन् भन्ने कुरामा पनि उत्तिकै ध्यान दिनुपर्छ । श्वास फेर्न गाह्रो भएको छ भने आफूलाई जसरी बस्दा सजिलो हुन्छ त्यसैगरी बस्नुपर्छ ।

अक्सिजनको सर्कुलेसन कति छ भन्नेबारे जानकारी लिइरहनुपर्ने हुन्छ । नजिकको डाक्टर वा स्वास्थ्यकर्मीलाई जानकारी दिने र उहाँहरुबाट सल्लाह लिने गर्नुपर्छ । नजिकै डाक्टर वा स्वास्थ्यकर्मी नभए पनि फोन गरेर भए पनि जानकारी लिनुपर्छ । शरीरमा अक्सिजनको मात्रा ९० भन्दा कम भएमा घोप्टो परेर सुत्दा सहज भएमा डराउनु पर्दैन । तर, ९० भन्दा कम छ र लक्षणहरु देखिएको छ भने अस्पताल गइहाल्नुपर्छ ।

पछिल्लो समय कोरोना सङ्क्रमितहरुलाई बान्ता तथा झाडापखाला लाग्ने स्वास्थ्य समस्या पनि देखिएको छ । त्यस्तो अवस्थामा पुनर्जलीय झोल पदार्थहरु खुवाइराख्नु पर्छ । बान्ता रोकिएन, झाडापखाला लागिरह्यो भने अस्पताल जानुपर्छ ।
(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा राजभण्डारीसँग उज्यालो अनलाइनका लागि जानुका दुवाडीले गर्नुभएको कुराकानीमा आधारित)