– साम्पाङ सन्जु,

 

गाउँमा भाइलाई कल गरेँ ‘हन कता छस् हौ ?’

 

‘ए माथ्थि आको छुम् हौ हामी त, बनतरुल खोज्नु जादैछुम्’
आश्चर्जे हुदै म चेन्

 

‘लु अनि सक्राती आउनु अझै छ तौ दिन, किन एतिबेलै ?’

 

बोधोबोधो भाकामा जुवाप दियो भाईले ‘चिन्ना लाइराख्नु नि हौ, पछि आएर खन्नु सजिलो हुन्छ ।’

 

कता कुन जंगल गएछ भन्ने खुल्दुली बढिगो एता,

 

‘कता दुधे चौरीदेखि माथितिर कि ?’ भनेको, हैन रछ, उँभै-उँभै अरे, सायद ढेँडु डाँडादेखि पनि अझै माथि गए होलान् गाइजहरु ! गाउँमा नहुँदा धेरै कुरा छुटिजाने रहेछ जिन्दगीमा !

 

यो हुस्से अनि बारीमा पातपतिङ्गर, झोसझासहरु बालेर निकालिने धुवाँ, तल्लोघर र माथ्लोघर गरिहिन्दा बारबार प्रस्ताव आउने मरिच लगाको तात्तो न तात्तो कालो नुनच्या, अघिल्लो दिन नै उसिनिराखेर भोलिपल्ट ब्यान अगेना वरिपरि बसेर, ‘भुब्रो’ मा सेकाइने सिमलतरुल ! त्यो स्वाद आहा !

 

कति साल भइसक्यो, एकखेप त म दिनभरिको छुट्टी लिएर जान्छु हौ तल हिलेधापमा माछा मार्नु भन्ने मनमा लागेको । धान काटेर रहेको ठुटालाई पुरुक् पुरुक् उखेल्दै, मजासँग हिलोमा गाडिएको माछाहरु समात्नु, बन्सोको सिलमा उन्नु, खोल्साखोल्सीमा ढुंगाबालुवाले थुनेर बलाउटी माछा सोहोर्नु…!

 

मनले सोचेर, मनले नै गरिसक्छ सबै सम्झनाहरु ! अनि त्यो प्रिय गाउँको याद पनि एकतमासले आइदिन्छ नि त !