बिर्तामोड । सुरूवाती कोठा नेपालको सहजीकरणमा कोरोना भाइरसबाट प्रभावित बिरामीको लागि प्लाज्मा रगत दान अभियान सुरू गरिएको छ ।
कोरोनाबाट गम्भीर अवस्थाका बिरामीको उपचारमा कोरोना भाइरसबाट प्रभावित भइ निको भएका व्यक्तिको प्लाज्मा रगत बिशेष हुने भएकोले यो अभियान सुरू गरिएको साथै विभिन्न प्रकारका बिरामीका लागि रगत खोजी, औषधि उपचार कार्य लगायतका क्षेत्रमा सहजीकरण गरिने संस्थाका संयोजक दिपक दासले बताउनुभयो ।
उहाँका अनुसार कोरोना भाइरसबाट प्रभावित बिरामीका लागि प्लाज्मा रगत रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने हुनाले प्रदेश १ का बढी प्रभावित जिल्लालाई लक्षित गरी अभियान सुरू गरिएको हो ।
संस्थाले रगत तथा प्लाज्मा दान गर्नुहुने दाताहरुका लागि स्वास्थ सुरक्षाको मापदण्डसहित निशुल्क यातायात सुविधा उपलब्ध गर्ने भएको छ।
अभियानमा इमजेन्सी रेस्पोन्स सेन्टर, न्याय तथा बिकासका लागि सामाजिक संजाल र चेम्बर अफ कमर्स झापाले सहयोगी भूमिका खेल्नेछ भने रेडक्रस झापाको प्राविधिक सहयोग रहने प्लाज्मा रगत ब्यवस्थापनका फोकल पर्सन विष्णु आचार्यले जानकारी दिनुभयो ।
विभिन्न क्षेत्रमा सक्रिय यी संस्थाले कोरोना भाइरसको विकराल अवस्थामा रगत खोजी कार्य, मानवीय उद्धार, औषधि, राहत वितरण कार्यको क्षेत्रमा सहजीकरण गर्दै आएको थियो ।