शनिश्चरे । अक्सिजन सिलिण्डर अभाव भइरहेकाे बेला ग्यारेज सञ्चालक विकास सुन्दासले अर्जुनधारा नगरपालिकालाई अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन् ।

अर्जुनधारा ७ निवासी सुन्दासले कोरोना संक्रमितको उपचारमा सहजता पुगोस् भनेर २ थान सिलिण्डर उपलब्ध गराएका हुन् । उनले बिर्तामोडमा महालक्ष्मी इन्टरनेशनल ग्यारेज सञ्चालन गर्दै आएका छन् ।

कोरोना महामारीका बेला बिरामीलाई अक्सिजन सिलिण्डर अभाव भएको समाचार सुनेपछि उनले आफूसँग भएको सिलिण्डर उपलब्ध गराउने निर्णय लिएका थिए । उनले सामाजिक अभियन्ता कमल पोख्रेललाई जानकारी गराएपछि आइतबार नगरलाई हस्तान्तरण गरे ।

अर्जुनधाराका कोभिड फोकल पर्सन मुकुन्द बस्नेतले सिलिण्डर बुझ्दै सहयोगी विकास सुन्दासलाई नगरको तर्फबाट धन्यवाद दिए । सोही समय विकासले अन्य ग्यारेज सञ्चालकलाई पनि सिलिण्डर उपलब्ध गराउन प्रेरित गराउने पनि बताए ।

यस्तै, सामाजिक अभियन्ता पोख्रेलले थप १० थान अक्सिजन सिलिण्डरको व्यवस्था गर्न आफू लागिपरेको पनि बताए । अर्जुनधारा नगरपालिकाले २० बेडको आइशोलेसन तयारी अवस्थामा राखेको छ भने ३ थानमात्र अक्सिजन सिलिण्डर रहेको थियो ।