झापा । झापामा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना बृद्ध हुन् ।

बिर्तामोड, मेचीनगर र शिवसताक्षीका तीन बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो । बिर्तामोड नगरपालिका वडा नं ८ का मगर थरका ६२ वर्षिय बृद्धको उपचारका क्रममा आज विहान बिर्ता सिटी हस्पिटल बिर्तामोडमा मृत्यु भएको नगरपालिकाका सिनियर अहेव दीपक सापकोटाले बताए । योसँगै नयाँ भेरियन्टबाट बिर्तामोडमा ३ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै मेचीनगर–६ काँकरभिट्टाका ६० बर्षीय पुरुषको उपचारको क्रममा नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको छ । उनलाई २४ गते शुक्रबार उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । गएराति १० बजे उनको मृत्यु भएको वडाध्यक्ष लालित तामाङले बताए । योसंगै मेचीनगरमा कोरोनाको दोस्रो लहर चलेयता मृत्यु हुने कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

मृतक तीनै संक्रमित वडा नम्बर ६ का रहेका छन् । बैशाख २२ गते एकैदिन काँकरभिट्टाका दुई जनाको मृत्यु भएको थियो ।

त्यस्तै शिवसताक्षी नगरपालिका वडा नं ९ का एक बृद्धको होम आइसोलेसनमा हिजो बेलुका मृत्यु भएको छ । ७७ वर्षिय ती बृद्धलाई बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा रहेका थिए ।

उनको नेपाली सेनाले आज बिहान कनकाई माईमा अन्त्येष्टि गरेको नगरपालिकाका स्वास्थ्य शाखाका संजय ठकुरीले बताए । योसहित झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १५१ पुगेको छ ।