झापा । बुद्धशान्ति गाउँपालिकाका खरिदार दीपक नेपाललाई मोटरसाइकलले ठक्कर दिने चालकसहित फरार पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुद्धशान्ति गाउँपालिका १ पुल चौक बस्ने ३७ वर्षीय नेपाललाई बैशाख २४ गते राति मोटरसाइकलले ठक्कर दिई फरार भएका थिए । बुद्धशान्ति १ शान्ति चौकस्थित भित्री सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकलले राति साढे ८ बजे सडकमा हिँडिरहेका नेपाललाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल बिर्तामोडस्थित बिएण्डसी अस्पताल पु¥याइएको र उपचारको क्रममा मृत्यु भएको थियो ।

नेपाललाई ठक्कर दिने मे ७ प ४५१५ नं मोटरसाइकलका चालक बुद्धशान्ति ३ बस्ने २७ वर्षिय गिरीराज थापा ,पछाडि सवार सोही ठाउँका २७ वर्षिय शिवराज राई, सँगै आएको को २ प ६३१५ नं को मोटरसाइकलका चालक २८ वर्षिय प्रकाश धिमाल, पछाडि सवार २८ वर्षिय महेश धिमाल र मोटरसाइकल धनी २४ वर्षिय विपिन चेम्जोङलाई प्रहरीले पक्राउ गरेको हो ।

दुईवटा मोटरसाइकल अगाडि पछाडि हुँदै आउदै गर्दा मे ७ प ४५१५ नं मोटरसाइकलले नेपाललाई ठक्कर दिएको थियो । ठक्कर दिएर उनीहरु फरार भएका थिए । चालक थापालाई सवारी ज्यान कसूर र सहयोगी चारजनालाई सार्वजनिक न्यायविरुद्धको कसूरअन्तर्गत मुद्धा चलाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।