बिर्तामोड । कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि भएसँगै वैशाख २२ गतेदेखि झापामा निषेधाज्ञा जारी गरिएको छ । तर, निषेधाज्ञा अवधिमा पनि झापामा नदीजन्य पदार्थको उत्खनन् र ओसारपसार निर्वाध भइरहेको छ ।

निषेधाज्ञाको समयमा पनि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र झापाले निर्माणजन्य सामग्री ओसारपसारमा रोक नलगाउने निर्णय गरेको थियो । निर्णयसँगै निर्वाधरुपमा नदीजन्य सामग्री उत्खनन् र ढुवानी भयो ।

यसैबीच, वैशाख २५ गते बसेको बैठकले निर्माण सामग्री ढुवानी गर्ने सवारीसाधनहरू बिहान ६ देखि १० बजेसम्म र बेलुका ६ देखि राति १० बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय गरे पनि कार्यान्वयन फितलो बनेको छ । जसका कारण सडकमा दिउँसोको समयमा पनि गिटी तथा बालुवा बोकेका ट्रयाक्टरहरू निर्वाध सञ्चालन भइरहेका छन् ।

बिर्तामोडको मुक्ति चोकमा प्रहरीले रोक्ने भएका कारण ती ट्रयाक्टर, टिपरहरू प्रहरीको आँखा छलेर भित्री बाटो हुँदै गुडिरहेका छन् । अधिकांश ट्रयाक्टरले बिरिङ खोलाबाट बालुवा उत्खनन् गरेर ल्याउने गरेका छन् भने स्थानीय प्रशासनले यसबारे निगरानी गरेको पाइँदैन । यस्तै, अर्जुनधारा, बिर्तामाेड, मेचीनगरमा सञ्चालित क्रसर उद्याेगका टिपरले पनि ढुवानी गर्ने गरेका छन् ।

निषेधाज्ञा अवधि सुरु भएयता ती ट्रयाक्टरहरू मध्यरातमा समेत सञ्चालन हुने गरेको बिर्तामोड निवासी अलीशेख मोहम्मद बताउँछन् । रातको समय चर्को आवाज निकालेर कुदाइने त्यस्ता ट्रयाक्टरका कारण आफूहरु सुत्न समेत नसकेको उनको भनाइ छ ।

मंगलबार राति ३ बजेको समयमा बिर्तामोडको मेघाबारी टोलमा सञ्चालन भइरहेको अवस्थामा दुईवटा ट्रयाक्टरलाई गाउँलेले रोकेर बिहान ६ बजेमात्र छोडेको उनले बताए ।