झापा । निषेधाज्ञामा पनि ट्रकको ठक्करबाट झापामा एक पैदलयात्रीको ज्यान गएको छ ।

झापाको कन्काई नगरपालिका-३ सुरुङ्गामा ट्रकको ठक्करबाट पैदलयात्री बृद्धाको ज्यान गएको हो । आज बिहान पौने १२ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ क ४४३ नम्बरको ट्रकले पैदलयात्री कन्काई नगरपालिका-७ की ७१ बर्षीया कमलामाया कामीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

निषेधाज्ञाको अवधिभर बिहान ६ बजेदेखि १० बजे र साँझ ६ बजेदेखि १० बजे रातिसम्म मात्र निर्माण सामग्रीको ढुवानीका लागि सवारीलाई छुट दिइएको छ । तर, मध्य दिउँसो ट्रकको ठक्करले पैदलयात्रीको मृत्यु हुन पुग्यो ।