झापा । डीसीसीएमसी झापाले निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । आज बसेको बैठकले निषेधाज्ञामा कडाइ गर्दै जेठ ७ गतेसम्म जारी राख्ने निर्णय गरेको हो ।

संक्रमण बढिरहेको हुँदा रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी राख्ने निर्णय भएको हो । डीसीसीएमसीले औषधि खरिद तथा उपचार बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाइने निर्णय गरेको छ ।

हरियो तरकारी, फलफूल, दूधजन्य सामग्री स्थानीय तह र वाणिज्य संघको समन्वयमा बिहान ८ बजेभित्र होम डेलिभरी सेवा उपलब्ध गराउने, बैंक तथा वित्तीय संस्थाले कम कर्मचारी राखेर हप्ता २ दिन आलोपालो मिलाइ सञ्चालन गर्नुपर्ने पनि निर्णय भएको छ ।

यस्तै, हाट बजार, मेला, जात्रा महोत्सव, पार्टी, भोजलगायत भीडभाड हुने कार्य गर्न नपाइने पनि निर्णय भएको छ । यस्तै, सरकारी कार्यालयका कर्मचारीका सवारीसाधन र सरकारी सवारी बिहान ९ बजेदेखि १० बजे र साँझ ५ बजेदेखि ६ बजेसम्ममात्र सञ्चालन गर्नुपर्ने निर्णय भएको छ ।

निर्णयअनुसार वैशाख ३१ गते राति १२ बजेदेखि जेठ ७ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सबै प्रकारका निजी तथा सार्वजनिक सवारीसाधन जिल्लाभर पूर्णरुपले रोक लगाउने भएको छ ।

अत्यावश्यक सेवा सञ्चालन गर्ने बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमा लगायतका कार्यालयहरुले सेवा स्थगन गर्ने र त्यस्ता कार्यालयमा न्यूनतम कर्मचारी मात्र उपस्थित गराई कार्यलयको आन्तरिक प्रशासन सञ्चालन गर्न डीसीसीएमसीले आग्रह गरेको छ ।

कोभिडको लक्षण देखिएमा वा त्यस्तै प्रकारका कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा पालिकाको आइसोलेशन सेन्टरमा सम्पर्क राख्ने निर्णय गरिएको छ ।