काठमाडौँ । प्रतिनिधिसभामा बैशाख २७ गते विश्वास गुमाएका केपी शर्मा ओली आजै राति पुनः प्रधानमन्त्री नियुक्त हुने  भएकाे छ ।

काँग्रेस-माओवादी-जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउने सम्भावना टरेका कारण राति ९ बजेपछि ओली नै प्रधानमन्त्री हुने पक्का भएकाे हाे ।

​राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकार गठनका लागि आज राति ९ बजेसम्मको समय दिएकी थिइन् । यो समयसीमा सकिएको छ । तीन दिनको यो अवधिमा शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले भगीरथ प्रयास गर्दा पनि बहुमत प्रमाणित गर्न सकेनन् । अन्ततः उनीहरु प्रधानमन्त्रीको दाबी गर्न नजाने निष्कर्षमा पुगे ।

माधव नेपाल समूहले सामुहिक राजीनामा नगरेको र जसपाको महन्थ ठाकुर पक्षका सांसदहरुलाई भक्तपुरको रिसोर्टमा राखिएपछि देउवाको पक्षमा बहुमत नजुटेको हो ।

विपक्षीले बहुमत जुटाउन नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (३) अनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाउने बाटो खुलेको छ । दुई वा दुईभन्दा बढी दलहरुले बहुमत सिद्ध गर्न नसके ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाइने संविधानको धारा ७६ (३) मा प्रावधान छ ।

यसबीचमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम पनि प्रधानमन्त्रीका रुपमा चर्चामा आएको थियो । काँग्रेस, माओवादीका नेताहरुले महन्थको नाम अगाडि सारेको अवस्थामा चाहिँ बहुमत जुट्न सक्ने सम्भावना पनि थियो । तर, यसका लागि काँग्रेस-माओवादीका नेताहरु तयार भएनन् ।

यसैबीच, पुनः प्रधानमन्त्री हुनुअघि नै केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले बधाई दिएका छन् । प्रधानमन्त्रीमा फेरि निर्वाचित हुन लागेको भन्दै ठाकुर र महतोले प्रधानमन्त्री निवास बालुवाटर पुगेर बधाई दिएका हुन् ।

राष्ट्रपतिले दिएको तीन दिनको समय सकिनै लाग्दा पनि प्रतिपक्षमा रहेका दलहरूले बहुमत जुटाउन नसकेपछि प्रधानमन्त्रीमा ओली दोहोरिने पक्का भएकाे हाे ।