सांकेतिक तस्वीर ।

बिर्तामोड । एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानमा २५० वटाभन्दा बढी अक्सिजन सिलिन्डरबापतको नगद सहयोगको प्रतिबद्धता आएको छ ।

अभियानले आज शनिबार जुम एप्समार्फत गरेको पत्रकार सम्मेलन कार्यक्रममा दाताहरुले सो प्रतिबद्धता जनाएका हुन् । अभियानको मुख्य साझेदार संस्थाहरु सहारा नेपाल र अन्तर्राष्ट्रिय झापाली समाजले एक एक सय थान अक्सिजन सिलिन्डर प्रदान गर्ने जनाएका छन् ।

त्यस्तै, अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न अस्ट्रेलियाको किंग्सटन इन्स्टिच्युटले १० थान सिलिन्डरबापतको नगद सहयोगको प्रतिबद्धता जनाएको छ । इन्स्टिच्युटका सञ्चालक दिपक खनालले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

अभियानले यसअघि स्थापना गरेको पिसिआर प्रयोगशालाका लागि अन्तर्राष्ट्रिय झापाली समाजले प्रदान गरेको २५ लाख रुपैयाँ संकलन समितिका खनाल संयोजक थिए । उनकै अगुवाई संसारभर रहेका झापालीले २५ लाख जुटाउन सहयोग गरेका थिए ।

झापा बिर्तामोड निवासी खनाल झापाली समाज अस्ट्रेलियाका पूर्वअध्यक्ष तथा अन्तर्राष्ट्रिय झापाली समाजका वरिष्ठ उपाध्यक्ष हुन् । उनले यसअघि पनि सामाजिक कार्यका लागि लाखौँ रुपैयाँ सहयोग गरिसकेका छन् ।

त्यस्तै, रोटरी क्लब अफ बिर्तामोडले पाँच थान अक्सिजन सिलिन्डरको प्रतिबद्धता जनाएको छ भने रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले पनि पाँच थान सिलिन्डरको प्रतिबद्धता जनाएको छ ।

रोटरीका तर्फबाट अध्यक्ष निर्मल भट्टराई र प्रतिष्ठानका तर्फबाट महासचिव गोपाल ओलीले प्रतिबद्धता जनाएका हुन् । यी दुवै सामाजिक संस्था अभियानको स्थापनाकालदेखिकै सदस्य संस्था हुन् ।

यसैबीच, झापा-काठमाडौँ सम्पर्क मञ्च क्षेत्र नम्बर ४ ले सिलिन्डर खरिदका लागि नगद ५१ हजार रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएको छ । मञ्चका अध्यक्ष सुनिल भेटवालले पत्रकार सम्मेलनमार्फत सो रकम सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

अभियानलाई व्यक्तिगत रुपमा पनि सहयोग प्राप्त भइरहेको छ । अभियानको सचिवालयका कर्मचारी मातृका सुवेदीका अनुसार पहिलो दिन ९ जनाले सिलिन्डरबापतको १५ हजार रुपैयाँका दरले सहयोग गरेका थिए । आज दोस्रो दिन साँझसम्म २० जना पुग्ने सुवेदीले बताए ।

झापामा पनि अक्सिजन सिलिन्डर अभाव हुने संकेत हुँदै गएपछि कोरोना संक्रमितको उपचारमा सहयोग गर्न अभियानले अक्सिजन बैंक स्थापना गरेको हो । अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीका अनुसार तत्कालाई पहिलो चरणमा चार सय थान अक्सिजन सिलिन्डरको खरिद प्रक्रिया अघि बढाइएको छ ।

अभियानसँग हाल २० लाख रुपैयाँ बचत रहेको सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । ४०० थान सिलिन्डरका लागि लागभग ६० लाख रुपैयाँ लाग्ने बताइएको छ ।

अभियानले चीनबाट सिलिन्डर ल्याउन प्रक्रिया अघि बढाएको हो । ४८ लिटर क्षमताका ती सिलिन्डर एअर कार्गोमार्फत काठमाडौँ हुँदै झापा ल्याइने संयोजक गिरीले बताए ।

अभियानसँग हाल १५ लाख ७७ हजार रुपैयाँ बचत रहेको सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । ४०० थान सिलिन्डरका लागि ढुवानीसहित लागभग ६० लाख रुपैयाँ लाग्ने बताइएको छ ।

दोस्रो चरणमा चार कार्यक्रम
दोस्रो चरणमा अभियानले अक्सिजन बैंकको स्थापना गर्ने, एक्सरे मेसिन खरिद, डाक्टर परामर्श सेवा र कोभिड संक्रमित विपन्न परिवारहरुका लागि खाद्यान्न सहयोग कार्यक्रम सार्वजनिक गरेको छ ।

आज शनिबार जुम एप्समार्फत भएको पत्रकार सम्मेलनमा संयोजक गिरीले कार्यक्रमबारे बताएका थिए । अक्सिजन बैंकका लागि काम सुरु भइसकेको छ भने एक्सरे मेसिन स्थापना गर्न प्रक्रिया अघि बढाइको छ ।

झापा जिल्ला सहकारी संघको पहलमा अभियानमार्फत एक्सरे मेसिन सञ्चालनमा ल्याइने संघका अध्यक्ष गणेश ढकालले जानकारी दिए । त्यसका लागि संघले काम गरिरहेको बताइएको छ । एक्सरे मेसिन हाल पिसिआर ल्याब रहेको कनकाईस्थित समर्पण भवनमा स्थापना गरी सञ्चालनमा ल्याइने ढकालले बताए ।

२०२० को मे १ तारिखबाट सुरु भएको अभियानले पहिलो चरणको कोरोना संक्रमणको बेला एक करोडभन्दा बढी खर्चमा पिसिआर ल्याब स्थापना गरेको थियो । ल्याब स्थापना भएपछि झापालगायत साविक मेची अञ्चलबासीको कोरोना परीक्षणमा सहज भएको छ ।

यसअघि पनि अभियानले अघिल्लो वर्षको लक डाउनका बेला विपन्नवर्ग तथा दैनिक ज्यालादारी गर्ने मजदुरहरु भोकै नहुन् भनेर एक परिवारले ‘एक विपन्न परिवारलाई सहयोग’ भनेर २ हजार रुपैयाँका दरले सहयोग संकलनबाट अभियान सुरु गरेको थियो ।

अभियानले झापामा भिटिएम, आडिटी किट वितरण गर्नुका साथै, क्वारेन्टिनमा खाद्यान्न तथा स्वास्थ्य सामग्री प्रदान गरेको थियो । संकलन गरिएका स्वाबको परीक्ष्णमा ढिलाइ हुन थालेपछि अभियानले पिसिआर ल्याब स्थापना गरेको थियो ।