पहिलाे दिन शनिश्चरे बजारमा उल्लंघन गर्नेहरू ।

बिर्तामोड । झापामा जिल्ला प्रशासन कार्यालयले पूर्ण निषेधाज्ञा जारी गरेको पहिलो दिन ९१ वटा सवारीसाधन नियन्त्रणमा लिइ कार्बाही गरिएको छ ।

निषेधाज्ञा जारी गरिएको पहिलो दिन जिल्लाभर सवारीसाधन ठप्प प्रायः रह्यो । तर, निषेधाज्ञा उल्लंघन गर्ने ९१ वटा सवारी साधनलाई प्रहरीले कार्वाही गरेको हो । कार्वाही पर्नेमा दुई पांग्रे ४२, तीन पांग्रे २० र चार पांग्रे २९ वटा सवारी साधन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयले २, इलाका प्रहरी कार्यालय काँकरभिट्टाले २४, इप्रका बिर्तामोडले २४, इप्रका दमकले ८, इप्रका धुलावारीले ६, इप्रका गौरीगञ्जले २, वडा प्रहरी कार्यालय भद्रपुरले १, प्रहरी चौकी जलथलले २ र हल्दीवारी प्रहरी चौकीले ४ वटा सवारी साधनलाई कार्वाही गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।

त्यस्तै दुई पांग्रे १५ र चार पांग्रे १२ गरी २७ वटा सवारी साधनलाई नियन्त्रणमा लिई केही समयपछि छोडिएको उनले बताए । त्यसैगरी निषेधाज्ञामा आवतजावत गर्ने ७ जनालाई भद्रपुरबाट नियन्त्रणमा लिइएको डिएसपी थापाले जानकारी दिए ।

निषेधाज्ञाको पहिलो दिन सडकमा मानिसको आवतजावत घटेको छ । प्रहरीले सडकमा चेकजाँचलाई कडाइ गरेको छ । झापा जिल्लामा शनिवारदेखि निषेधाज्ञा थप कडा पारिएको हो । निषेधाज्ञा कडा पारिएसँगै जिल्लाका बजार क्षेत्र र सडक सुनसान देखिएको हो ।

जिल्लाका मुख्यगरी बिर्तामोड, दमक, काँकरभिट्टा, धुलाबारी, भद्रपुर, सुरुंगालगायतका क्षेत्र ठप्प प्रायः छन् ।