बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिएन्डसी हस्पिटलमा कोरोना संक्रमित ९२ जनाको उपचार भइरहेको छ ।
जसमध्ये १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । उनका अनुसार आज बिहानसम्म ९२ जनामध्ये ३३ जना आइसीयुमा उपचाररत छन् । यसैगरी २० जनाको एचडीयु र ३९ जनाको कोभिड वार्डमा उपचार भइरहेको छ ।
अहिले अस्पतालमा २०० बेड कोभिड विरामीको उपचारको लागि छुट्याईएको जनाइएकाे छ । जसमध्ये ७० आईसियु बेड रहेका छन् भने अस्पतालमा ६५ वटा भेन्टिलेटरहरुबाट संक्रमित विरामीको उपचार भईरहेको छ ।
यसैबीच, जनता बैंकका पूर्व अध्यक्ष एवम् हाल ग्लोवल बैंकका निर्देशक केशव रायमाझी र उनकी श्रीमती पवित्रा रायमाझी हेलिकप्टर एयर वेड सिफ्ट गरी कोरोना संक्रमणको उपचारको लागि बिएण्डसी अस्पतालमा आएका छन् ।
कोरोना संक्रमण भएपछि आज बिहान रायमाझी दम्पती हेलिकप्टरमार्फत बिएण्डसी अस्पताल आएका हुन् । हालसम्म २२ जना एयर लिफ्ट गरी बिएण्डसी आईसकेका छन् । उनीहरुको आईसियु, एचडीयु तथा कोभिड वार्डमा उपचार भईरहेको र अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।
हाल देशमा कोभिडको कारण सृजना भएको यो विकराल समयमा यस बिएण्डसी अस्पतालले प्रदेश नं. १ का विरामीका साथै देशका विभिन्न स्थानहरु नेपालगञ्ज, मुगु, डोटी, कैलाली, दाङ, चितवन, विरगंज, ओखलढुङ्गा, सोलुखुम्वु, पोखरालगायत विशेषतः काठमाण्डौमा कोरोना संक्रमणका कारण संवेदनशील अवस्थामा पुगेका र ती स्थानहरुमा उचित उपचार संम्भव नभएका कारण बिएण्डसी अस्पतालको विश्वास एवम् भरोसा गरी उपचारको लागि आएको अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले एक विज्ञप्तिमार्फत जनाएका छन् ।
अस्पतालमा उपचारको लागि भर्ना भएका विरामीहरु सफल उपचारपछि निको भएर घर जाने दर उच्च रहेको र विरामीहरुको मृत्युदर अत्यन्तै न्यून रहेको उनले जानकारी दिएका छन् ।
देश र जनताप्रति सदैव उत्तरदायी रहेको बिएण्डसी अस्पताल परिवार कोभिडको यो परिस्थितिमा कुनै पनि विरामीले उपचार अभावमा मृत्युवरण गर्नु नपरोस् भन्नेतर्फ सजग रहेको छ’, उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उनले हालसम्म यो महामारीको अवस्थामा विरामीको सफल उपचार गराउनको लागि यस अस्पतालमा अहोरात्र खटिने चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी एवम् कर्मचारी, संचारकर्मीलाई धन्यवाद दिँदै आगामी दिनहरुमा निरन्तर सहयोगको अपेक्षा गरेका छन् ।