काठमाडौँ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या क्रमशः घट्दो क्रममा रहेको छ । यस्तै मृतकको संख्या पनि घट्दो क्रममा रहेको छ भने निको हुने दर बढ्दै गएको देखिएको छ ।

कोरोनाको दोस्रो लहर बढ्दै गएपछि काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्ला निषेधाज्ञा लगाइएसँगै संक्रमण दर घट्दै गएको देखिएको हो । यस्तै मृतकको संख्या पनि घटेको छ । पीसीआर परीक्षण गर्दा संक्रमण केही दिन यता सरदर ४५ प्रतिशत रहेकोमा आज ३७.४ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त बनेका छन् भने निको हुने दर ७४.६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनकाअनुसार संक्रमितमध्ये देशभर १ हजार ३१३ जना आईसीयूमा र ३८० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् भने अधिकांश संक्रमित होम आइसोलेसनमै रहेका छन् ।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना निको हुँदा ७३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको हो ।

​काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २९२, ललितपुरमा ४३६ र काठमाडौंमा १ हजार ८८१ गरी जम्मा २ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए । हाल देशभर १ लाख १० हजार २६३ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै आज संक्रमणका कारण १४५ जनाको मृत्यु भएको पनि उनले जानकारी दिए ।

यसअघि यसअघि शनिबार देशभर ८१६७ जना संक्रमित थपिएका थिए भने ५ हजार ४५५ जना निको भएका थिए । यस्तै मृतकको संख्या १८७ जना रहेको थियो । त्यसअघि शुक्रबार ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको थियो भने ६ हजार १३५ जना निको भएका थिए । यस्तै २०३ जनाले ज्यान गुमाएका थिए ।

उसो त बिहीबार ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको थियो भने ५ हजार ५५ जनामात्रै निको भएका थिए । सो दिन २१४ जनाले ज्यान गुमाएका थिए । यस्तै बुधबार ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने निको हुने संख्या ४४४४ जनामात्रै थियो ।

सो दिन १६८ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यस्तै मंगलबार पनि ९ हजार माथि नै संक्रमित रहेका थिए ।