बिर्तामोड । पछिल्लो केही दिनदेखि झापामा कोरोना भाइरसको संक्रमण दर घट्दै गएको छ । प्रशासनले निषेधाज्ञामा कडाइ गरेपछि संक्रमण घट्दै गएकाे हाे ।

शनिबार १९७ जनामा संक्रमण पुष्टि भएको थियो । आज आइतबार भने कुल संक्रमितको संख्या ९९ रहेको छ । पीसीआरतर्फ ६१ जना र एन्टिजेन परीक्षणबाट ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि बिहीबार २७६ जनामा संक्रमण पुष्टि हुँदा ५ जनाको मृत्यु भएको थियो । त्यस्तै, शुक्रबार घटेर २१३ जनामा संक्रमण पुष्टि भएको थियो भने एक जनाको मात्र मृत्यु भएको थियो ।

संक्रमण दर घट्दै जाँदा निको हुनेको संख्या पनि बढ्दै गएको छ । बिहीबार ३३ जना निको भएका थिए भने शुक्रबार २८ र शनिबार ५७ जना निको भएका थिए । आइतबार ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

आंशिक निषेधाज्ञा हुँदा यसअघि संंक्रमण दर ३ सयभन्दा माथि थियो भने मृत्यु दर ८ जनासम्म पुगेको थियो ।

पछिल्लो २४ घण्टाभित्र झापामा मात्र ९९ जनामा संक्रमण पुष्टि हुँदा ३७ जना महिला रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार पीसीआरतर्फ २१ महिला र ४० पुरुष, तथा एन्टिजेनतर्फ १६ महिला र २२ जना पुरुषमा संक्रमण भएको हो ।

सबैभन्दा बढी हल्दिबारी गाउँपालिकामा २४ जना रहेका छन् । जसमा ५ महिला र १९ जना पुरुष छन् । दमकमा ११ महिलासहित १९ जना, कमलमा २ महिलासहित ७ जना, मेचीनगरमा ३ महिलासहित १० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, बिर्तामोडमा ४ महिलासहित १२ जना, अर्जुनधारामा ४ महिलासहित ६ जना, भद्रपुरमा १ महिलासहित ५ जना, शिवसताक्षीमा २ महिलासहित ५ जना, कचनकवल र कनकाईमा १-१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यो सँगै कुल संक्रमितको संख्या ७६१६ रहेको छ भने निको हुनेको संख्या ४८४७ रहेको कोभिड फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिएका छन् । यस्तै, विभिन्न आइशोलेसनमा २६०४ जनाको उपचार भइरहेको छ ।

यसैबीच, बितेको २४ घण्टामा झापामा २ महिला र १ पुरुषको कोरोना संक्रमणबाट ज्यान गएकोे छ । मेचीनगरकी ८६ वर्षीया महिला, झापा गाउँपालिकाकी ४५ वर्षीया महिला र कमल गाउँपालिका ६ का ७८ वर्षीय पुरुषको ज्यान गएको हो । यो सँगै १७४ पुगेको छ ।