झापा । झापामा फेरि कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । केही दिनदेखि ओरालो लागेको संक्रमण दर सोमबार अहिलेसम्मकै उच्च भएको छ ।

पछिल्लो चौबीस घण्टामा झापामा ३५७ जना कोरोना संक्रमित थपिएका भए । जिल्लामा १४९ महिला र २०८ पुरुषमा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार पीसीआरतर्फ १४० महिला र १८९ पुरुष तथा एन्टिजेनतर्फ ९ महिला र १९ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा बढी भद्रपुर नगरपालिकामा ८१ जना रहेका छन् । जसमा २५ महिला र ५६ जना पुरुष छन् । त्यस्तै दमकमा ३५ महिलासहित ७० जना, बिर्तामोडमा १८ महिलासहित ३५ जना, मेचीनगरमा १२ महिलासहित २७ जना, गौरादहमा १ महिलासहित ५ जना, कनकाईमा १३ महिलासहित २१ जना, हल्दीवारीमा १ महिला, १ पुरुष, अर्जुनधारामा १२ महिलासहित २६ जना, बुद्धशान्तिमा ८ महिलासहित २१ जनामा संक्रमण पुष्टि भएकाे छ ।

यसैगरी, गौरीगञ्जमा १ महिला, कचनकवलमा २ महिलासहित ५ जना, कमलमा १ महिलासहित ४ जना, शिवसताक्षीमा ९ महिलासहित २२ जना, बाह्रदशीमा २ महिलासहित ९ जना, झापा गापामा ५ महिलासहित १५ जना र ठेगाना नखुलेका ४ महिलासहित १३ जना रहेका छन् ।

योसँगै कुल संक्रमितको संख्या ७९४५ पुगेको छ भने निको हुनेको संख्या ४८७३ रहेको कोभिड फोकल पर्सन जीवन चौंलागाईले जानकारी दिएका छन् । यस्तै, विभिन्न आइसोलेसनमा २९०६ जनाको उपचार भइरहेको छ । सोमवार २६ जना डिस्चार्ज भएको चौंलागाईले बताए ।