अन्त्येष्टिका क्रममा प्रशासकीय अधिकृत खाम्याहाङको शवमाथि राष्ट्रिय झण्डा ओढाउँदै छोराहरु ।

झापा । अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको आज (मंगलबार) अन्त्येष्टि गरिएको छ ।

प्रशासकीय अधिकृत कोरोना संक्रमणबाट सोमबार मृत्यु भएको थियो । उनको उपचारकै क्रममा बिर्तामोडको बिएन्डसी हस्पिटलमा मृत्यु भएको हो । उनको धरानस्थित सर्दु खोलामा आज अन्त्येष्टि गरिएको छ ।

उनको मृत्यु भएपछि परिवारले पुख्र्यौली घर संखुवासभा लैजान चाहे पनि निषेधाज्ञाको समयमा स्वास्थ्य सुरक्षाको दृष्टिले प्रशासनले अनुमति दिएको थिएन । तर, धरानस्थित घर लैजान प्रशासनले आवश्यकीय व्यवस्थापन गरेको थियो ।

नियमतः संक्रमणबाट निधन भएका व्यक्तिको नेपाली सेनाले अन्त्येष्टि गर्ने भए पनि कारणवश खाम्याहाङकै परिवारले गरेका छन् । सेनाको टोली आइनपुगेपछि मृतकका छोरा र भान्जाले शव वाहनबाट शव निकालेर अन्त्येष्टि गरिएको अर्जुनधाराका कोभिड फोकल पर्सन मुकुन्द बस्नेतले जानकारी दिए ।

उनका आफन्तले स्वास्थ्य सुरक्षा अपनाएर शवलाई चितामा पुराएका थिए । सेनाको टोली नआए पनि धरान उपमहानगरपालिकाका जनप्रतिनिधि अन्त्येष्टिमा सहभागी भएका थिए ।

उनको शव बिएन्डसी हस्पिटलबाट बिहान ११ बजे निकालिएको थियो । त्यहाँ अन्तिम श्रद्धाञ्जलि दिन नगर प्रमुख हरिकुमार रानालगायत वडाध्यक्षहरु, कर्मचारी र स्वास्थ्यकर्मीहरु उपस्थित थिए । मेयर रानाले नेपालको राष्ट्रिय झण्डा र फूलका गुच्छा उनका परिवारलाई हस्तान्तरण गरेका थिए ।

वैशाख ९ गते एन्टिजेन परीक्षणमा संक्रमण पुष्टि भएपछि पाँच दिन होम आइशोलेसनमा र २ दिन नगरको आइशोलेसनमा बसेका थिए । उनको श्वास प्रश्वासमा समस्या बढेपछि वैशाख १७ गते बिएन्डसीमा भर्ना भएका थिए ।

प्रशासकीय अधिकृत खाम्याहाङकाे निधनले देशले कुशल प्रशासक गुमाएकाे छ । उनका श्रीमती, २ छोरा र एक छोरी रहेका छन् ।