बिर्तामोड । कोरोना संक्रमणबाट अर्जुनधाराकी एक महिलाको धरानमा मृत्यु भएको छ ।

अर्जुनधारा ९ की शिवाकोटी थरकी ५५ वर्षिया महिलाको धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड हस्पिटलमा गएराति मृत्यु भएको हो । श्रीमान र छोरा नभएकी र छोरीहरु धरानमा रहेकाले ती महिलाको धरानमै अन्त्येष्टि गरिने जनाइएको छ ।

यसैगरी, भद्रपुरमा आज फेरि तीनजनाको ज्यान गएको छ । मृत्यु हुने तीनैजना पुरुष हुन् । उपचारका क्रममा दुई जनाको भद्रपुरको मेची अस्पतालमा र एकजनाको बिर्तामोडको बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो । हिजोमात्र भद्रपुरमा दुई जनाको मृत्यु भएको थियो ।

भद्रपुर १ का ८४ वर्षिय क्षेत्री थरका बृद्धको मेची अस्पतालमा मृत्यु भएको हो भने सोही अस्पतालमा भद्रपुर वडा नं ६ का ५६ वर्षिय कर्ण थरका पुरुषको पनि मृत्यु भएको छ ।

त्यस्तै भद्रपुर वडा नं २ का ३८ वर्षिय कुमाछी थरका व्यक्तिको बिर्तामोडको बिएण्डसी हस्पिटलमा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका मनोज भट्टराईले बताए । योसँगै नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या भद्रपुरमा १० पुगेको छ ।

यसैगरी, आज बिहानमात्र दमक ५ का पूर्व वडाध्यक्ष मोती इङनामको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको थियो ।