झापा । भद्रपुरका तीन र अर्जुनधाराका दुईसहित आज झापाका सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र पाँच पुरुष रहेका छन् ।

सदरमुकाम भद्रपुरमा एकैदिन तीन जना संक्रमितको मृत्यु भएको नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । कोरोनाबाट भद्रपुर नगरपालिका १ निवासी ८४ वर्षीय क्षेत्री थरका वृद्धको मृत्यु भएको छ ।

त्यस्तै भद्रपुर नगरपालिका २ बस्ने ३८ वर्षीय सिंह थरका संक्रमित पुरुषको मृत्यु भएको छ । जेठ १ गते कोरोना पुष्टि भएको उनको उपचारको क्रममा बिएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको फोकल पर्सन भट्टराईले जानकारी दिए ।

भद्रपुर नगरपालिका ६ निवासी ५८ वर्षीय संक्रमित पुरुषको पनि मेची कोभिड उपचार केन्द्रमा बुधवार बिहान मृत्यु भएको छ ।

त्यस्तै अर्जुनधाराका दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा ९ र १० का एक महिला र एक पुरुष छन् । अर्जुनधारा वडा नं १० का ६६ वर्षिय बृद्धको मनमोहन हस्पिटल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका मुकुन्द बस्नेतले बताए ।

त्यस्तै गएराति अर्जुनधारा ९ की एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । शिवाकोटी थरकी ५५ वर्षिया महिलाको धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड हस्पिटलमा मृत्यु भएको हो ।

त्यसैगरी आज फेरि बिर्तामोड ४ का एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । ९२ वर्षिया बृद्धाको बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा बिहान ११ बजे मृत्यु भएको नगरपालिकाका सिनियर अहेव दीपक सापकोटाले बताए ।

त्यस्तै दमक ५ का पूर्व वडाध्यक्ष तथा सामाजिक ब्यक्तित्व मोती इङ्नामको कोरोना संक्रमणबाट निधन भएको छ । गोर्खाली टोल निवासी उनको आज विहान ३ बजे उपचारको क्रममा विराटनगरको नोवल शिक्षण अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

हिजो पनि झापामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको थियो ।

यसैबीच बिर्तामोडको बिएण्डसी हस्पिटलमा धरानकी एक महिला संक्रमितको मृत्यु भएको छ । धरान उपमहानगरपालिका ८ की राई थरकी ५६ वर्षिया महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो ।