अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले होम आइशोलेशनमा बस्दा कठिनाइहरुलाई तथा सामान्य लक्षण भएका कोभिड संक्रमितहरुका लागि अर्जुनधारा ३ सिमलचौरस्थित भवनमा सेल्फ प्रिआइशोलेशन केन्द्रमा व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको छ ।

नगरको कोभिड संकट व्यवस्थापन कमिटि (सीसीएमसी) को आज बसेको बैठकले यही १० गतेबाट त्यहाँ आवश्यक स्वास्थ्य सामाग्री सहित स्वास्थ्यकर्मी खटाएर बिरामीलाई उपचार प्रदान गरिने जनाएको छ ।

साथै कोभिड संक्रमितको घर तथा संस्थाको वातावरणीय सरसफाइ तथा निसंक्रमण गर्ने कार्यमा नगरबाट फोहोरमैला तथा सरसफाई कार्यका लागि कर्मचारीहरुलाई आवश्यक सहजीकरण गर्न नगर, वडा समितिले टोल विकास समितिहरुलाई परिचालन गरिने समेत बैठकले निर्णय गरेको छ ।

त्यस्तै कोभिड १९ संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहेका परिवार तथा अन्य व्यक्तिहरुलाई पीसीआर परीक्षणका लागि सहज वातावरण बनाउने तथा पीसीआर परीक्षणको व्यवस्था मिलाउन नगरप्रमुखले सबै वडाध्यक्ष समक्ष अनुरोध गर्ने र वडाले आवश्यक समन्वय गर्ने समेत बताइएको छ ।

नगरपालिकाले नगरको स्वास्थ्य चौकीमा अक्सिजनसहितको कोभिड आइशोलेशन केन्द्र निर्माण कार्य धमाधम भइरहेको जनाएको छ । साथै अबको केही दिनमै उक्त आइशोेलेसन सञ्चालनमा ल्याइने र आवश्यक अक्सिजनको व्यवस्थापन भइरहेको बताइएको छ ।

त्यस्तै दैनिक उपभोग्य अत्यावश्यक खाद्य बस्तु, तरकारी तथा निर्माण सामग्रीको आपूर्तिको व्यवस्था जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार नै गरिने नगरले जनाएको छ ।

नगरप्रमुख हरिकुमार रानाको अध्यक्षतामा सम्पन्न बैठकमा नगरको अहिलेसम्मको कोभिडको अवस्था र स्वास्थ्य शाखाले नियन्त्रणमा खेलेको कार्यको विवरण नगर कोभिड फोकल पर्सन मुकुन्द बस्नेतले प्रस्तुत गरेका थिए । नगरमा अहिले सम्म ३३१ जनामा केरोना संक्रमण पुष्टि भइसकेको छ ।