बिर्तामोड । इलामकी गर्भवती एक महिलाले झापाका विभिन्न अस्पतालमा उपचारका लागि चाहर्दा चाहर्दै ज्यान गुमाउनु परेको छ ।

माइ नगरपालिका वडा नं ८ की २२ बर्षिया महिलालाई शुक्रबार माइ नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएको थियो ।

रिपोर्ट पोजिटिभ आएपछि मेची प्रादेशिक अस्पताल भद्रपुरमा शुक्रबार बेलुकी ५ बजे ल्याइएकी ति महिलाको उपचार प्रकृया राति ९/१० बजेसम्म पनि शुरु हुन नसकेपछि विर्तामोडको मेडिका अस्पतालमा ल्याइएको थियो ।

ति महिलाको उपचारमा सहयोगका लागि गएका स्थानीय पर्शुराम बाँस्तोलाले भने, ‘आइसियुमा राख्नका लागि बिएण्डसी अस्पतालमा सम्पर्क गर्दा सबै प्याक रहेछ । मनमोहनमा एउटा खाली रहेछ । तर कोभिडको संक्रमण भनेपछि लिन मानेनन्। अक्सिजन दिएर नै सबैतिर सम्पर्क गर्दा दमकमा एउटा बेड त पाइयो । तर बिरामीलाई मेडिकाबाट एम्बुलेन्समा हाल्न नपाउँदै मृत्यु भयो ।’

शनिबार ५ बजे मृत्यु भएकी महिलाको शव राति ८ बजे घर पुरयाइएको छ । माइ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले ति महिलालाई आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले मेची प्रादेशिक अस्पताल रिफर गरिएकोमा उनको मेडिका अस्पताल विर्तामोडमा मृत्यु भएको पुष्टि गरे ।

कोरोना संक्रमणबाट इलाममा अहिलेसम्म इलाममा १४ जनाको ज्यान गइसकेको छ ।