झापा । बिर्तामोडका तीन जनासहित झापाका थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोडका एकजना औषधि व्यवसायी रहेका छन् । साथी मेडिको एण्ड साथी डाइग्नोष्टिक सेन्टरका संचालक प्रकाशचन्द्र उप्रेतीको कोरोना संक्रमणबाट बिर्तासिटी हस्पिटलमा आज अपरान्ह १२ः४० बजे मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी बमबहादुर बस्नेतका अनुसार बिर्तामोड १० निवासी करिब ४९ वर्षिय उप्रेती विगत १० दिनदेखि त्यहाँ उपचाररत रहेका थिए ।

बिर्तामोडका मृत्यु हुनेमा वडा नं ३ की ८४ वर्षिया बृद्धा र वडा नं १ का ६० वर्षिय बृद्ध पनि रहेका छन् । बिर्तामोड ३ की ती बृद्धाको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा हिजो बेलुका मृत्यु भएको हो । त्यस्तै मुर्मू थरका बृद्धको मेची अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै कोरोना संक्रमणबाट गरामनी स्वास्थ्य चौकीका पूर्व अहेव कृष्णप्रसाद भट्टराईको पनि मृत्यु भएको छ । भद्रपुर ९ निवासी ६५ वर्षिय भट्टराईको मेची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै गौरादह २ का ५० वर्षिय गौतम थरका पुरुषको दमकको एडभान्स हस्पिटलमा मृत्यु भएको छ ।