काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा चुनावी सरकार बनाउन प्रस्ताव गर्नुभएको छ ।

आज (शुक्रवार) राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफू नेतृत्वको सरकारलाई चुनावी सरकार बनाउने र यही सरकारमा सबै राजनीतिक दल सहभागी हुन प्रस्ताव गर्नुभएको हो ।

ताजा जनादेशमा जाने कुरा प्रतिगमन नभएको भन्दै उहाँले एक पटक फेरि ताजा जनादेश लिएर सरकार सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै आउँदो कात्तिक २६ र मङ्सिर ३ गतेका लागि मध्यावधि चुनाव तोक्नुभएको छ ।

यस विषयमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । यसबारेको बहस संवैधानिक इजलासमार्फत सुरु भएको छ ।