काठमाडौँ । केही दिन अगाडि वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत २७ वर्षीय युवकको अक्सिजन लेभल घट्दै गइरहेको थियो । आईसीयूमा खटिएका डाक्टर, नर्स उनको उपचारमा व्यस्त थिए । बिरामीकी श्रीमती १९ वर्षकी र छोरी ६ महिनाकी रहिछन् । यो सुन्दा आईसीयूमा कार्यरत नर्स मुना पोखरेलको मन विचलित भयो ।

हुन त आईसीयूमा सबै बिरामी निकै सिकिस्त अवस्थाकै हुन्छन् । तर, ती युवाको उमेर र उनको बच्चा पनि छ भन्ने थाहा पाउँदा भने सबैको मन आत्तियो । सबैले झै मुनाले पनि खुब प्रार्थना गरिन् उनका लागि । दुई दिनपछि ती युवकको अक्सिजन लेभल एक्कासी बढेर ९० को लेभलमा आइपुग्यो । सबै खुसी भए ।

मुना भन्छिन्, ‘सुनिन्छ नि कहिले काहिँ चमत्कार हुन्छ भनेर, हो त्यही भइरहेको थियो । आईसीयूमा राखिएका बिरामी, त्यसमा पनि कोभिडका बिरामीलाई निको बनाएर पठाउन पाउँदाको खुसी सायदै अनुमान गर्न सकिन्छ । हामी त्यही दिनको प्रतिक्षामा थियौं ।’

तर, त्यो खुसी धेरैदिन टिक्न सकेन । मुना सुनाउँछिन्, ‘तीन दिनपछि एकाएक उहाँको अक्सिजन पुनः घट्न थाल्यो । सबै उपाय लगाउँदा पनि उहाँलाई बचाउन सकिएन ।’

उनी अगाडि भन्छिन्, ‘आश मरेको बिरामी फेरि आशा लिएर आयो र एकाएक गयो । त्यो चक्र र उनको अहिले पनि खुब याद आउँछ । सायद म ती दाइको मृत्युलाई भुल्न सक्दिनँ होला । त्यस्ता भर्खरका युवाहरुलाई आईसीयूबाट प्लास्टिकमा बेरेर पठाउनुपर्दा साह्रै रुन मन लाग्छ । तर, हामीसँग त्यहाँ रुने र दुःखमनाउ गर्ने समय नै कहाँ हुन्छ र ?’

सबैका लागि भगवान बन्न नसकिने रहेछ
बिरामीका लागि डाक्टर, नर्स भनेका भगवानका अर्को रुप हुन् । नयाँ जीवन दिनेलाई भगवानको रुपमा हेर्नु उनीहरुको नजर हो । यसो भन्दैमा डाक्टर नर्स भगवान हुन सक्दैनन्, मात्र उनीहरुले आफ्नो कर्म गरिरहेका हुन्छन् । फेरि सबैका लागि उनीहरु भगवान हुन पनि त सक्दैन रहेछन् ।

मुना भन्छिन्, ‘जो निको भएर घर फर्कनुहुन्छ, उहाँहरुले भगवान जसरी व्यवहार देखाएर जानुहुन्छ । बृद्ध बा आमाले आशीर्वाद दिएर जानुहुन्छ । तर, जसलाई बचाउन सकिँदैन, उहाँका आफन्तहरुले झर्केर निकै नमिठो व्यवहार देखाएर जानुहुन्छ । उहाँहरु ठान्नुहुन्छ कि हामीले नै मारेका हौं । हामी बिरामी मार्न होइन, बचाउन यहाँ छौं । त्यो सबैले बुझ्दैनन् । तर, यो नियति सामान्य लाग्छ अहिले ।’ यो समाचार रातोपाटी डटकममा छ ।