झापा । गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागार झापाका १२ जना कैदीले बाँकी सजाय माफी पाएका छन् ।

हरेक वर्ष गणतन्त्र दिवसको अवसरमा कैदीवन्दीलाई कैद माफी दिने क्रममा जिल्ला कारागार झापाका १२ जनाले बाँकी भुक्तान गर्नुपर्ने सजाय माफी पाएका हुन् । कारागार प्रशासनले २२ जनाको नाम सिफारिस गरेको थियो ।

राम्रो चालचलन भएका र पचास प्रतिशत कैद भुक्तान गरेका कैदीले माफी पाएको कारागार प्रमुख राजेन्द्र गौतमले बताए । आज रिहा हुने सबै पुरुष कैदी छन् । बहुविवाह, डाका चोरी, किर्ते नागरिकता, सरकारी छाप दस्तखत दुरुपयोग कसूरमा कैद भुक्तान गरिरहेका कैदीहरु माफी पाएर रिहा हुन लागेको उनले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा झापाका १२ सहित चार सय ३० कैदीहरूको सजाय कट्टा गरी माफी दिएकी हुन् । सरकारको सिफारिसमा उनीहरूलाई माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।