झापा । भद्रपुरस्थित जिल्ला कारागार झापामा रहेका १३ जना कैदी कैद किनेर छुटेका छन् ।

सर्वोच्च अदालतले कोरोनाको संक्रमण हुन सक्ने भन्दै छोटो समय कैद रहेकालाई कैद किनेर छाड्न सरकारलाई निर्देशन जारी गरेबमोजिम १३ कैदी छुटेका हुन् ।

फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ मा कैदवापत रकम तिर्न सकिने व्यवस्था छ । अदालतले एक वर्षसम्म कैद तोकेका उनीहरुले बाँकी अवधिको प्रतिदिन रु ३०० का दरले भुक्तान गरी छुट्न पाउने भएका हुन् । त्यसरी छुट्न पाउनेहरु झापा कारागारमा अब केही मात्र बाँकी रहेका छन् ।

कार्यालयका प्रमुख राजेन्द्र गौतमका अनुसार एक वर्ष कैद तोकिएकामध्ये कैद किन्नका लागि अझै दुई जनाले झापा जिल्ला अदालतमा निवेदन दिएका छन् । ४ सय ५० जनाको क्षमता रहेको कार्यालयमा हाल १२११ जना कैदीबन्दी छन् । जसमध्ये ६५ महिला, ११४२ पुरुष र ४ आश्रित बालबालिका छन् ।