उर्लाबारी । मोरङको उर्लाबारीमा कोरोना संक्रमणबाट एक साताभित्रै एकै घरका बाबुछोराको निधन भएको छ ।
कोरोना संक्रमणबाट उर्लाबारी २ मा उर्लाबारीका पूर्व गाविस उपाध्यक्ष कुमार धिमालको निधन भएको पाँच दिनपछि उनका छोरोका पनि निधन भएको हो । २०५४ सालदेखि २०५८ सालसम्म उर्लाबारी गाविसका उपाध्यक्ष रहेका धिमालको जेठ १२ गते कोभिडको संक्रमणका कारण बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको थियो ।
कोरोना संक्रमित उनका छोरा ४७ वर्षीय तेजबहादुर धिमालको पनि आज सोही अस्पतालमा उपचारका क्रममा निधन भएको उर्लाबारी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
धिमाल जाति विकास केन्द्रका केन्द्रीय महासचिव मातृका धिमालका अनुसार परिवारका जेठो छोरा तेजबहादुरलाई सबैभन्दा पहिले कोरोना देखिएको थियो । उनलाई अस्पताल भर्ना गरेको एक सातापछि बाबु कुमार धिमालमा संक्रमण देखिएको थियो ।
धिमाल संस्कृतिअनुसार बाबुको दाहसंस्कार भएको स्थल स्थानीय सालबारी वन क्षेत्रमै छोराको पनि अन्त्येष्टि गर्ने तयारी भयरहेको छ । तेजबहादुर खाद्यान्न व्यवसायी हुन् । योसँगै उर्लाबारीमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।