झापा । अर्जुनधारा नगरपालिकाले स्थापना गरेको आइशोलेसनमा संक्रमित बिरामीको उपचार गर्न सुरु गरिएको छ ।
अर्जुनधाराा ४ नम्बर वडामा रहेको स्वास्थ्य चौकीमा स्थापना गरिएको आइशोलेसनमा संक्रमित बिरामीको उपचार सुरु गरिएको हो । त्यहाँ संक्रमित बिरामीको उपचारका लागि २० वटा बेड तयार गरिएको थियो ।
हिजो (बिहीबार) बेलुका ६ नम्बर वडाका एक संक्रमित पुरुषलाई लगेर उपचार थालिएको कोभिड फोकल पर्सन मुकुन्द बस्नेतले जानकारी दिए । नगरबाट स्तरीय आइशोलेसन सञ्चालन केही समय ढिला भएको उनको स्वीकारोक्ति छ ।
मेडिकल अफिसर डा. जोन्सन विश्वकर्माको नेतृत्वमा स्वास्थ्यकर्मी रहने आइशोलेसनमा अक्सिजन, कार्डियक मनिटरको सुविधा रहेको छ भने बिरामी रेफर गर्नु परेको खण्डमा पोर्टेबल भेन्टिलेटरको व्यवस्था पनि गरिएको छ ।
२४ घण्टा स्वास्थ्यकर्मी खटिने उक्त आइशोलेसनमा रहेका संक्रमित बिरामीलाई नगरपालिकाले पोषिलो २ सयम खाजा र बिहान-बेलुका खानाको व्यवस्था मिलाएको छ ।