अर्जुनधारा । अर्जुनधारा जेसीज शनिश्चरेले झापा अर्जुनधारा–५ का कोरोना भाइरस पीडित एक परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

अर्जुनधारा नगरपालिकाका कर्मचारी (चालक) राजकुमार परियारको परिवारलाई अर्जुनधारा जेसीजले सहयोगस्वरुप ११ हजार एक सय रुपैयाँ प्रदान गरेको छ ।

जेसीजका पूर्व अध्यक्ष अजय देव, कार्यकारी उपाध्यक्ष वसन्त बुढाथोकी, उपाध्यक्ष सोना गेलाललगायतको टोली शनिबार परियारको घरमा पुगेर उक्त सहयोग रकम प्रदान गरेको हो । जेसीजका पूर्व अध्यक्ष अजय देवले पीडित परिवारलाई रकम हस्तान्तरण गरेका थिए ।

६ दिनअघि परियारकी श्रीमती कौशिलाको कोरोना संक्रमणकै कारण उपचारका क्रममा निधन भएको थियो । श्रीमान राजकुमार पनि संक्रमित नै छन् ।

उपचारमा लागेको खर्च जुटाउन संघर्षरत परियार परिवारलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले नगद सहयोग गरिएको जेसीजका कार्यकारी उपाध्यक्ष बसन्त बुढाथोकीले जानकारी दिए ।

उपचारकै क्रममा कौशिलाको जेठ १७ गते बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा निधन भएको थियो । अस्पताललाई बुझाउन करिब ३ लाख रुपैयाँ बाँकी छ । निम्न आयस्रोत भएका परियार परिवारको लागि आवश्यक सहयोग रकम जुटाउनसमेत जेसीजले सबैसँग आव्हान गरेको छ ।

यसअघि जेसीजले कोभिड-१९ रोग नियन्त्रण गर्न परिचालन भएको शनिश्चरे प्रहरी चौकीलाई १० बण्डल मास्क र पाँच लिटर सेनिटाइजर प्रदान गरेको जेसीजका कार्यकारी उपाध्यक्ष बुढाथोकीले जानकारी दिए ।

त्यसैगरी नगरभित्रका सबै वडाबाट अति विपन्न परिवार छनौट गरी खाद्यान्न सामग्री वितरण गर्ने तयारी भइरहेको जेसीजका कोषाध्यक्ष भवानी बरालले बताए ।