झापा । झापाको कचनकवल गाउँपालिका २ मा रहेको गन्धर्व बस्तीमा राहत लिएर विद्यार्थी संगठन पुगेका छन् ।

निषेधाज्ञाका कारण समस्यामा परेका गन्धर्व समुदायमा चामल, दाल, खानेतेल, साबुन, नुनलगायतका अत्यावश्यक खाद्य सामग्री लिएर गन्धर्व बस्तीमा अनेरास्ववियु कचनकवल गाउँपालिका कमिटी पुग्दा स्थानीय खुशी भएका छन् ।

शनिबार ४५ घरपरिवारलाई ७० हजारभन्दा बढीको सामग्री बितरण गरिएको संगठनका केन्द्रीय सदस्य रोशन लामाले बताए । जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेल, सामाजिक युवा विक्रम तिवारीको सहयोगमा गन्धर्व बस्तीमा प्रदेश सांसद बसन्त बानियाँको पहलमा बितरण गरिएको हो ।

अति विपन्न परिवारका समुदायलाई चामल, लुगा धुने साबुन, सोयाबिन तेल, नुन, खानेतेल लगायतका सामग्री वितरण गरेको पुर्वाञ्चल गन्धर्व समाजमा सचिब रबिन गन्धर्वले बताए ।

स्थानीय युवा संघका नेता नवराज ढुंगाना, उमेश मिश्र, संदिप निरौलाले यसअघि नै विभिन्न श्रोत जुटाएर उनीहरुलाई सहयोग गर्दै आएका छन् ।

कोरोना महामारीका कारण देशका विभिन्न कुना कन्दरासम्म पुगेर सारङ्गीको धुनमा गीत गाएर परिवार धान्दै आएका गन्धर्व जाति आर्थिक सङ्कटमा परेका छन् ।