फिदिम । फिदिमका केही युवाले ‘हुनेले दिने, नहुनेले लिने’ अभियान सुरु गरेका छन् ।

कोरोना पोजेटिभ भएका परिवार बाहिर हिँड्डुल गर्न नमिल्ने र खानेकुरा लिन जाने समस्या देखेपछि फिदिमका युवाले यो अभियान सुरु गरेका हुन् । कोरोना पोजेटिभको घर घरमा सामान पुर्याउने सोचबाट सुरुवात गरिएको थियो ।

तर, थप निषेधाज्ञाका कारण दिनभर कमाएर खाने परिवारको घरमा चुलो निभ्ने बुझेपछि खाद्यान्नको जोहो गर्न नसक्ने परिवारलाई फिदिमका युवाले ‘हुनेले दिने, नहुनेले लिने’ अभियान चलाए ।

अभियानमा संलग्न युवाहरु स्वंयले रकम संकलन गरी अभियान थालेका थिए । यस क्रममा अभियन्ताहरु स्वयंबाट ४० हजार रुपैया संकलन गरी शुरुवात गरिएको थियो । अभियान अन्तर्गत तेस्रो चरणको राहत वितरण कार्यक्रमा घर घरमै गएर आइतबारसम्ममा जम्मा ५९ घरमा हस्तान्तरण गरिसकेको छ ।

यो अभियानलाई सफल बनाउन जिल्लाभित्र, जिल्ला बाहिर र बिदेशबाट सहयोग आइरहेको अभियानका अभियान्ताहरु बताउँछन् । आइतबारसम्म १ लाख ५५ हजार ६८९ रुपैयाँ संकलन भएको छ।

फिदिमका विभिन्न पेशामा आवद्ध युवाहरु यो अभियानमा जोडिएका छन् । देश बिदेशबाट मात्र होइन स्थानीय ब्यक्तित्वहरुबाट पनि सहयोग आइरहेको अभियन्ता तिर्थ मिश्रले बताए ।