बिर्तामोड । झापाका २३५ जनामा थप कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसै अवधिमा १५२ जना निको भएका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितमध्ये पीसीआर विधिबाट ७६ जना महिला र ७६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यस्तै, एन्टिेजनतर्फ ४३ जना महिला र ४३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

प्राविधिक कारणले पीसीआर विधिबाट पुष्टि भएका संक्रमितको विवरण उल्लेख गर्न नसकिएको कार्यालयले जनाएको छ ।

एन्टिजेनतर्फ पुष्टि भएका संक्रमितमध्ये सबैभन्दा बढी अर्जुनधारा नगरपालिकाका १६ जना महिलासहित २६ जना रहेका छन् । यस्तै, बिर्तामोडका १० महिला र १० पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी, बुद्धशान्तिमा ८ महिला र ६ पुरुष, कमलमा ५ महिला र ६ पुरुष, मेचीनगरमा ३ महिला र ३ पुरुष, कचनकवलमा ४ जना र गौरादहमा २ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै झापामा संक्रमितको संख्या ११ हजार ५५६ पुगेको छ । त्यस्तै, निको हुनेको संख्या ७ हजार ९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा झापामा ८ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । जसमा झापाका मात्र ३ जना महिला रहेका छन् । बाँकी अन्यत्र जिल्लाका संक्रमित हुन् । यो सँगै झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या २७२ पुगेको छ ।