झापा । झापामा आजदेखि दुई दिनसम्म कोभिड १९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइँदैछ ।

झापामा यस पटक चिनिया खोप भेरोसेल १३ हजार भाईल उपलब्ध भएकोले सोही सँख्यामा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई लगाइने लक्ष्य लिइएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । खोप लगाउन आउँदा उमेर खुल्ने प्रमाणपत्रसहित आउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

चिनिया भेरोसेल खोपको पहिलो डोज लगाएकालाई दोस्रो डोज र नलगाएकालाई पहिलो डोज लगाइने स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चौलागाईले बताए । यो खोप पहिलो मात्रामा लगाएको ४ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने बताइएको छ ।

झापामा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूको सँख्या करिब २० हजार रहेको अनुमान गरिएको छ । तर, खोप १३ हजार मात्र आएको छ । जिल्लाका सबै पालिकाहरुलाई मिलाएर खोप उपलब्ध गराइएको चौलागाईले बताए । कूल जनसँख्याको १.७५ प्रतिशत त्यस उमेर समूहको भएको जनाइएको छ ।

चीनबाट अनुदानमा प्राप्त १० लाख भेरोसेल खोप काठमाडौँ उपत्यकामा ६० देखि ६४ र बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई लगाउन लागिएको हो ।