विर्तामोड । झापाका दुई नगरपालिकालाई आनी छोइङ डोल्मा फाउण्डेशनले ५० लाख मुल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

फाउण्डेशनले बिहीबार बिहान विर्तामोड र अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता अग्नी खरेलको पहलमा उक्त सामग्री झापाका दुई नगरलाई हस्तान्तरण गरिएको फाउण्डेशनले जनाएको छ ।

फाउण्डेशनसँगै, प्रारम्भ सामाजिक संस्था र सिङ्गापुर रेडक्रसले दुई नगरलाई १-१ थान भेन्टिलेटर, २-२ थान अक्सिजन कन्सन्ट्रेटर र पीपीई उपलब्ध गराएको छ ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको आनी छोइङ डोल्माले बताइन् । उनले जीवनमा सेवा नै सर्वोत्तम कार्य भएको बताएकी छन् । देशका विभिन्न जिल्लामा फाउण्डेशनले स्वास्थ्य सामग्री सहयोग गर्दै आएको जनाइएको छ ।

स्वास्थ्य सामग्री ग्रहण गर्दै विर्तामोड नगरका प्रमुख ध्रुव शिवाकाटी र अर्जुनधाराका नगर प्रमुख हरिकुमार रानाले फाउण्डेशनलाई धन्यावाद दिए ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवण तिमिल्सिनाले झापालाई सम्झिएर स्वास्थ्य सामग्री उपलब्ध गराएको आभार व्यक्त गर्दै जिल्लाको अवस्था बारे जानकारी गराएका थिए ।