विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरणको बारेमा अब बिलम्ब गर्न नहुने बताएका छन् । मुख्यमन्त्री राईले यही अधिवेशनबाट प्रदेशको नामकरण टुङ्ग्याएर जानुपर्नेमा जोड दिए ।

उनले त्यसका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई तयारी रहन पनि आग्रह गरे । आइतबार नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले यो अधिवेशनबाट प्रदेशको नामकरण सम्पन्न गरेपछि मात्र बर्षे अधिवेशन अन्त्य हुने बताए ।

‘प्रदेशको नामकरण यसै अधिवेशनबाट टुङ्ग्याउनुपर्छ’ मुख्यमन्त्री राईले भने, ‘यो नीति तथा कार्यक्रम पास भएको भोलिपल्टै बाट त्यसबारेमा छलफल आगाडि बढाउनुपर्छ। म सबै दलका माननीय ज्यूहरुलाई प्रस्ताव गर्छु, प्रदेशको न्वारान पश्चात मात्र यो वर्षे अधिवेशन अन्त्य गरौं।’

कोराना संक्रमणका कारण नामकरणको बारेमा छलफल गर्न असुरक्षित हुने अवस्था आइपरेको खण्डमा पनि आवश्यक सतर्कता र स्वास्थ्य सुरक्षाका विधि अपनाएर नामकरणको विषयलाई टुंग्याउनुपर्नेमा उनले जोड दिए । सरकार गठन भएको तीन वर्ष पुरा हुँदा पनि प्रदेशको नामकरण हुन सकेको छैन ।

पछिल्लो समय सरकार जोगाउने र ढाल्ने खेलका कारण प्रदेशको नामको बिषयमा चर्चा समेत हुन छाडेको छ । जसका कारण प्रदेशको नामकरणको बिषय ओझेलमा पर्न थालेको हो । तत्कालिन नेकपा नेतृत्वको सरकार गठन भएको एक वर्षपछि स्थायी राजधानीबारे टुङ्गो लाएको प्रदेश १ ले अझै नाम पाउन सकेको छैन ।

सरकार गठन भएको तीन वर्ष पूरा भए पनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच सहमति हुन नसक्दा नामकरणको विषय अनिर्णित भएको हो । मुलुकका सात प्रदेशमध्ये पाँचवटा प्रदेशको नाम र स्थायी राजधानीको टुङ्गो लागिसकेको छ ।