झापा । सर्पदंशबाट ज्यान गइरहेको झापाको कचनकवलमा बिहीबारदेखि सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ । सर्पदंश उपचार केन्द्र संचालनमा आएपछि सर्पले डसेर अकालमा मृत्यु हुने समस्याबाट दक्षिणी झापाका बासिन्दाहरुले छुटकारा पाउने भएका छन् ।

दक्षिणी झापाको कचनकवल गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा हिजोदेखि सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको हो । निवर्तमान संघीय सांसद राजेन्द्र लिङ्देनले सो सर्पदंश उपचार केन्द्रको उद्घाटन गरे ।

उनले त्यस सर्पदंश उपचार केन्द्रबाट कचनकवलबाहेक बाह्रदशी, भद्रपुर, हल्दिवारीलगायत छिमेकी भारतका नागरिकहरू समेतलाई सेवा प्राप्त गर्न सजिलो हुने विश्वास व्यक्त गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तरगतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गत जेठ २७ गते कचनकवलमा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति दिएको थियो ।

उपचार केन्द्र नहुँदा जेठको दोस्रो साता सर्पले डसेर कचनकवलका दुईजनाको मृत्यु भएको थियो ।

कचनकवल गाउँपालिकाले सो सर्पदंश उपचार केन्द्र संचालन गर्ने भएकोे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए । उनले प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयबाट एन्टी स्न्याक भेनम ल्याएको जानकारी दिए ।

गाउँपालिका अध्यक्ष अन्जार आलमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद बसन्त बानियाँ, पार्टी प्रतिनिधिहरु तुलाराम अधिकारी, भगिरथा अधिकारी, जग्गादाता चिन्तामणि खरेललगायतले बोलेका थिए । रविचन्द्र ओझाले स्वागत गरेको कार्यक्रमको संचालन विकास घिमिरेले गरेका थिए ।