रमेश समदर्शी,

अर्जुनधारा, झापा । पोखरीमा डुबेर बेपत्ता बनेका झापा अर्जुनधाराका एक युवाको शव सुरक्षाकर्मीले फेला पार्न नसकिरहेको अवस्थामा स्थानीय एक व्यक्तिले फेला पारे ।

हिजो (आइतबार) साँझ ५ः३० बजेतिर अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाको अर्जुनधारा ११ स्थित घरछेउको माछा पोखरीमा स्थानीय ४० वर्षीय माइकल सोरेन बेपत्ता भएका थिए ।

६ महिनाअघि खनिएको पोखरीमा माछाका भूरा पनि थिए । यही क्रममा मेयर रानाकै घरमा बस्ने सोरेनसहितका युवा माछा हेर्न भनेर पोखरीमा पसेका थिए । तर, केही क्षणमै सोरेन बेपत्ता भए ।

करिब ६ कठ्ठाभन्दा बढी क्षेत्रफलमा पोखरी फैलिएको छ । पोखरीमा पानीको सतह १२ फिटभन्दा गहिरो रहेको अनुमान गरिएको छ । ‘पानीभित्र डुबेको पनि थाहा भएन’, मेयर रानाका छोरा प्रत्युसले भने, ‘पानीमा डुबेपछि बच्ने उपाय गरिएको पनि देखिएन र केही आवाज नै सुनिएन ।’

सोरेन बेपत्ता भएपछि स्थानीय युवाले खोजी कार्य गरे पनि कुनै अत्तोपत्तो नभएको उनको भनाइ छ । त्यसपछि सुरक्षाकर्मीलाई खबर गरी खोजतलास गरिएको थियो ।

आइतबार साँझदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा सामग्री अपनाएर खोजतलास गरे पनि फेला पार्न सकेनन् । उनले भने, ‘मध्यरातसम्म सुरक्षाकर्मी र स्थानीयले पोखरीभित्र पसेर खोज्दा पनि फेला पार्न सकिएन ।’

आज (सोमबार) बिहानैदेखि सुरक्षाकर्मीको संयुक्त टोलीले फेरि खोजतलासलाई जारी राखे । पोखरीमा अघिल्लै दिन मान्छे डुबेर बेपत्ता भएको खबर गाउँभरि सनसनी फैलिएको थियो ।

वल्लो गाउँ, पल्लो गाउँ । खबर सुन्नेजति सबै मेयर रानाको माछा पोखरीको डिलमा अचम्म मानेर चुक्चुकाउँदै थिए । उनीहरुले अनेक अड्कलबाजी मारे । सुरक्षाकर्मी सोरेनको खोजीमा पोखरीभित्र तल्लीन थिए । तर, उपलब्धी शून्य नै थियो ।

बिहानको १० बज्न लागेको थियो । उद्दार कार्यमा जुटेका सुरक्षाकर्मीलाई हेर्न सयौँको भिड थियो पोखरीको डिलमा । यसैबीच, गम्छा बेरेका करिब ६० वर्षीय स्थानीय जगु राजवंशी पोखरीमा पसे ।

सुरक्षाकर्मीका अधिकारीहरु मुखामुख गर्न थाले । अनाधिकृतरुपमा स्थानीयलाई पोखरीमा पस्न दिने, नदिनेभन्नेमा उनीहरु दोधारमा थिए । तर, जगुले सबैको विश्वास जित्दै पोखरीमा हेलिन छाडेनन् ।

जगुलाई नै पोखरीमा खोज्नुपर्ने हो कि भन्दै सुरक्षा अधिकारीहरु आफ्नो जागिरलाई सम्झँदै पनि थिए । दाइ (जगु)को नजिकमा बस्न र नियाल्न सुरक्षाकर्मीको निर्देशन थियो, सम्भावित अर्को दुर्घटना ननिम्त्योस् भनेर ।

१६ घण्टा बितिसकेको थियो सोरेन बेपत्ता भएको समय । सुरक्षाकर्मीले नै पहल गरेको समय १० घण्टा बित्दा पनि फेला परेनन् सोरेन ।

तर, पोखरीमा पसेको करिब २० मिनेटमा उनै जगुले सोरेनको शव फेला पारेर सुरक्षाकर्मीलाई बोलाए । सुरक्षाकर्मीले अनेकन् जुक्ति लगाएर गरेको काममा भने जगु राजवंशीले सफलता पाए ।

उनले भने, ‘हिजै म भेटाउँछु भनेको त हो नि, दिएनन् सरहरुले ।’ उनका अनुसार उनले पोखरीभित्र धेरै पटक डुबुल्की मारेका थिए । अन्तिमपटक उनले सोधेका थिए, पोखरीको कुन ठाउँमा देखिएका थिए माइकल ?

माइकल पसेको ठाउँ देखाएपछि हेलिएका जगुले खुट्टाले केही भेट्टाए । यहाँ छ, आउनु त, उनले भने । पोखरीको उत्तरपूर्वी क्षेत्रमा जगुको खुट्टाले माइकलको ढाडमा छोएको थियो । लामो समयसम्म नभेटिएको शव जगुले भेटाएपछि उनको प्रशंसा गर्ने बढेका थिए ।

सोरेन अर्जुनधारा नगरपालिकाका मेयर हरि रानामगरको घरमा काम गर्थें। पाँच वर्षदेखि सपरिवार मेयर रानाकै घरमा थिए सोरेन ।

बेपत्ता भएका उनको खोजीका लागि ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा ६ जना, चारआली ब्यारेकबाट क्याप्टेन प्रशान्त केसीको कमाण्डमा १८ जना, १ नं. प्रदेश बिपद ब्यवस्थापन कार्यालय चन्द्रगढीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ११ जना र प्रहरी चौकी शनिश्चरेबाट प्रहरी नायव निरीक्षकको टोली खटी गई स्थानीयको सहयोगमा खोजी गर्दा फेला नपरेपछि राति ११ः४५ बजे सबै टोली फिर्ता भएको थियो ।

फेरि आज बिहान ६ बजेबाट ईप्रका बिर्तामोडबाट प्रनाउको कमाण्डमा ९ जना, नेपाली सेनाको चारआली ब्यारेकबाट क्याप्टेन प्रशान्त केसीको कमाण्डमा १८ जना, १ नं प्रदेश बिपद ब्यवस्थापन कार्यालय चन्द्रगढीबाट प्रहरी सहायक निरीक्षक अर्जुन मगरको कमाण्डमा १८ जना, सशस्त्र प्रहरी बल सुरक्षा बेस शनिश्चरेबाट ७ जना र प्रहरी चौकी शनिश्चरेबाट ५ जनाको टोली खटिएको थियो ।