0 Shares

झापा । अर्जुनधारा नगरपालिकाले बुधबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी अधिकांश वक्ताले गुनासो व्यक्त गरे ।

उनीहरुले अर्जुनधारा नगरपालिकाको शाखा तथा उपशाखाबाट हुने गरेका सेवा प्रवाहका विषयमा जिज्ञासा राख्दै गुनासो व्यक्त गरेका हुन् । कार्यक्रममा सबैभन्दा बढी गुनासो कृषि विकास शाखाको काम कारबाहीप्रति उठेको थियो ।

त्यस्तै, योजना, प्राविधिक, पशु, शिक्षा, राजश्व, भूमि व्यवस्थापन, स्वास्थ्य शाखा, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमसँगै नगरपालिकाको नीति तथा कार्यक्रममाथि सहभागी राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी र सर्वसाधारणले आफ्ना गुनासो राखेका थिए ।

कृषि शाखाले गर्नुपर्ने काम समयमै गर्न नसक्दा किसान मर्कामा परेको भन्दै सहभागीले कृषि शाखा प्रमुख उर्मिला राजवंशीको कार्य क्षमतामाथि नै प्रश्न गरेका थिए । सञ्चारकर्मी प्रेम आचार्यले काम गर्न नसक्ने कृषि शाखा बन्द गर्न आग्रह गरे ।

त्यस्तै, अर्का सञ्चारकर्मी कुमार भट्टराईले किसानले ब्याड लगाइसकेपछि जेठ मसान्तमा धानको बिउ बाँड्नुभन्दा चामल वितरण गरे सिधै खान मिल्ने थियो भन्दै व्यंग्य प्रहार गरे । उनले पशु विकास शाखाबाट आफूले प्राविधिक सुझावसमेत नपाएकोमा रोष प्रकट गरे ।

नेकपा एमाले अर्जुनधाराका अध्यक्ष प्रेमसागर सापकोटाले कृषि शाखाबाट बिउविजन समयमै नपाएको भन्दै किसानले पाउने सिँचाइ सुविधाका लागि फारम भराउने काममात्र भएको गुनासो गरे ।

अधिकांश सहभागीले कृषि शाखाको गुनासो राखे पनि शाखा प्रमुख राजवंशीले कुनै प्रतिक्रिया दिइनन् । उनले आफ्नो सम्बोधनका क्रममा कोभिड १९ का कारण काम गर्न नसकेको मात्र सुनाइन् ।

अधिकांश शाखा प्रमुख कार्यक्रम सुरु हुँदा आइसकेका थिए तर उनी अढाइ घण्टा ढिलो कार्यक्रममा आएकी थिइन् । नगर कृषिमा आधारित भनिइरहँदा नगरपालिकामै कृषि अधिकृत नहुँदा नगरको नारा नारामै सीमित बन्ने भन्दै सहभागीको दुःखेसो थियो ।

सरकारी भवन र व्यक्तिगत घर निर्माणमा फरक फरक मापदण्ड राखिएको भन्दै अर्जुनधारा ६ का रामकुमार घिमिरेले गुनासो गरे । उनले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम प्रभावकारी नभएको पनि सुनाए ।

सञ्चारकर्मी आचार्यले सरकारले बृद्धबृद्धाका लागि पठाएको कोरोनाविरुद्धको खोप कर्मचारीले बिक्री गरेको भन्दै छानविनको दायरामा ल्याउन माग गरे । कार्यक्रममा सञ्चारकर्मीका तर्फबाट दिपीन राई, विनोद पाण्डेलगायतले जिज्ञासा राखेका थिए ।

यस्तै, राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेस अर्जुनधाराका सभापति हेमराज खरेल, नेकपा माओवादीका नारद दुःखी, राप्रपाका लवकुश गिरीलगायतले आफ्ना जिज्ञासा राखे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख हरिकुमार रानाले नगरपालिकाले नगरबासीका लागि नीति बनाउने गरेको सुनाए । उनले भने, ‘कागज मिलाउने, मिठो बोल्ने कर्मचारीबाट काम हुँदैन ।’

जनप्रतिनिधिको सोच, चिन्तन र प्रयत्नले मात्र परिवर्तन सम्भव नहुने भन्दै उनले सिंगो टिम लाग्न आग्रह गरे । उनले भने, ‘नगरले गरेको लगानी बुझाउन नसकिएको हो कि उपहासपूर्ण काम गरेको छ ?’

प्रदेश सरकारबाट भर्खरै अर्जुनधारा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर आएका अम्बिकाप्रसाद चौलागाईंले दुरुपयोग भएका विषयलाई गम्भीररुपमा लिँदै प्रमाण पुगेको खण्डमा छानविन गरी कारबाही गरिने आश्वासन दिए ।

असार २ गते कार्यभार सम्हालेका उनले अर्जुनधारा प्राकृतिक स्रोत सम्पन्न नगर भएकाले यसलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । ‘अर्जुनधारालाई समृद्ध नगर बनाउन सकिन्छ’, उनले भने, ‘सम्भावनाको सही ढंगले पहिचान गर्न जरुरी छ ।’

कार्यक्रममा योजनाका विषयमा हिमराज सेढाई, प्राविधिकतर्फ इन्जिनियर निता नेपाल, स्वास्थ्यबारे कोभिड फोकल पर्सन मुकुन्द बस्नेत, सूचना प्रविधितर्फ विनोद खनाल, राजश्वबारे डेनजनी आचार्य, प्रशासन तथा भूमि व्यवस्थापनबारे चुडामणि निरौला, लेखाबारे रामचन्द्र घिमिरे, सामाजिक विकासबारे सुमित मगर, प्रधानमन्त्री स्वरोजगारतर्फ प्रतिज्ञा थापामगरले आफ्ना भनाइ राखेका थिए ।

यस्तै, जिन्सीतर्फ तिवेन्द्र अधिकारी, न्यायिक समितिबारे पुष्पा पौडेल, पशु विकास शाखाका अधिकृत पदमलाल राईले जिज्ञासाका जवाफ दिएका थिए । कार्यक्रममा शिक्षा शाखाको तर्फबाट भने शाखा प्रमुख तथा प्रतिनिधि कसैको पनि उपस्थिति थिएन । कार्यक्रमको सञ्चालन प्रशासन शाखाका कर्मचारी सौजन कटुवालले गरेका थिए ।