झापा । पत्रकारको क्षमता विकासका लागि प्रदेश सरकारले विभिन्न योजना बनाएर अघि बढ्ने प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।

मिडिया एक्सन नेपाल प्रदेश १ द्वारा आयोजित कोभिड महामारी र पत्रकारको पेशागत सुरक्षाका लागि मिडिया संस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीले पत्रकारको पेशागत सुरक्षाका लागि प्रदेश सरकारले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले मिडियाको विकासका लागि प्रदेश सरकारले सबैसँग सहकार्य गर्ने भन्दै मिडिया एक्सन नेपालसँग हातेमालो गर्न तयार रहेको बताए । उनले कोरोना कहरको समयमा पत्रकारमा परेको आर्थिक समस्यालाई मध्यनजर गर्दै फेलोसिपको ब्यवस्था गरेर सहयोग गरेको बताए ।

प्रदेश-१ मा प्रादेशिक सञ्चार प्रतिष्ठान गठन गरेर पत्रकारको क्षमता र दक्षता विकासका लागि पहल थालेको मन्त्री कार्कीको भनाइ छ । उनले पत्रकारको पेशागत सुरक्षा तथा प्रदेश सरकारले निर्माण गर्ने मिडिया विधेयकका सवालमा मिडिया एक्सन नेपालसँग परामर्श गर्ने बताए ।

मिडिया एक्सन नेपालका केन्द्रीय अध्यक्ष लक्ष्मणदत्त पन्तले पत्रकारको विषयमा मिडिया संस्था संवेदनशील हुनुपर्ने बताए । उनले मिडिया संस्थाले सरकारसँगको परनिर्भरता हटाएर आत्मनिर्भर हुँदै पत्रकारको पेशागत सुरक्षा तथा दक्षता विकासमा ध्यान दिएमात्रै सञ्चार क्षेत्र सुदृढ हुने विश्वास ब्यक्त गरे ।

पत्रकारको पेशागत सुरक्षाका लागि मिडिया संस्थाको भूमिका प्रभावकारी हुनुपर्नेमा अध्यक्ष पन्तले जोड दिए । उनले मिडिया स्वतन्त्र र निष्पक्ष नभए त्यसको असर सबै क्षेत्रमा पर्ने भएकाले पत्रकारलाई दक्ष र जिम्मेवार बनाउनका साथै पत्रकारिताको विकासको क्षेत्रमा मिडिया एक्सन नेपालले लामो समयदेखि काम गर्दै आएको बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरले पत्रकारको दक्षता र क्षमता विकासमा ध्यान दिनुपर्ने बेला आएको बताए । उनले मिडिया एक्सन नेपालसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

शिक्षा पत्रकार समूहकी प्रदेश संयोजक एवम् सञ्चारिक समूह प्रदेश १ की महासचिव राधा खनालले महिला पत्रकारको क्षमता विकासमा ध्यान दिन प्रदेश सरकार र पत्रकार महासंघको ध्यानाकर्षण गराइन् ।

उनले अझै पनि महिला पत्रकार निर्णयक तहमा पुगिनसकेको भन्दैे पछिल्लो समय महिला पत्रकारहरु पनि विभिन्न अनलाइन सञ्चार माध्यम सञ्चालन गरेर आफैं उद्यमी बन्न थालेकाले प्रदेश सरकारले प्रोत्सहान गरिनुपर्नेमा जोड दिइन् ।

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले कोभिड महामारीमा पत्रकारको पेशागत सुरक्षाका लागि मिडिया संस्थाको भूमिका महत्वपूर्ण हुने बताए । उनले झापामा सञ्चार माध्यमहरुले नै पत्रकारको कोरोना बिमा गरिदिएको भन्दै पत्रकारको पेशागत सुरक्षाका लागि महासंघले पहल थालेको विचार ब्यक्त गरे ।

उनले पत्रकारलाई जिम्मेवार र दक्ष बनाउँदै अघि बढाउन मिडिया एक्सन नेपाल जस्ता सञ्चार सम्बद्ध संस्थाहरुसँग सहकार्य गर्न तयार रहेको बताए । उनले प्रदेश सरकारले मिडियासँग सम्बन्धित कानुन निर्माण गर्दा सञ्चारमैत्री हुनुपर्नेमा जोड दिए ।

प्रादेशिक सञ्चार प्रतिष्ठानका सदस्य गोपाल काफ्लेले पत्रकारलाई जिम्मेवार र दक्ष बनाउनका लागि प्रतिष्ठानले योजनाबद्ध ढङ्गबाट काम गर्ने बताए । उनले प्रदेश १ का पत्रकारको क्षमता विकासका लागि पहल गर्ने उल्लेख गरे । कार्यक्रको सञ्चालन प्रदेश १ संयोजक नरेन्द्र ढकालले गरेका थिए । हालसम्म ६ वटा प्रदेशमा वेबिनारबाट कार्यक्रम सम्पन्न भइसकेको छ ।