पर्वत पाेर्तेल,

काँकडभिट्टा । सीमावर्ती क्षेत्रमा बनाइएका अनधिकृत भौतिक संरचना हटाउनुको सट्टा भारतले नेपाली भूभागलाई थप असर पुग्ने गरी बलमिच्याइँपूर्वक निर्माण कार्य जारी राखेको छ ।

झापा मेचीनगर नगरपालिका-५ र ६ को पारिपट्टि दार्जिलिङ जिल्लामा पर्ने छोटामुनी ग्राम पञ्चायत मियाँ बस्तीको डुबान र कटान रोकथाम गर्न भन्दै भारतले मेची नदीको किनारामा १० मिटर उचाइ र १४ मिटरसम्म चौडाको ढुंगाको तटबन्ध निर्माण गरिरहेको छ । अहिले २ किमि तटबन्ध निर्माण भइसकेको छ ।

यसले नेपालपट्टि नकलबन्दादेखि काँकडभिट्टासम्मको खेतीयोग्य जमिन डुबानमा पर्ने जोखिम रहेको भन्दै स्थानीय चिन्तित छ ।

भारतले दशगजानजिकै तटबन्ध बनाउन थालेपछि मेचीनगर-७ का किसान रतन अधिकारी खेतीयोग्य जमिन डुब्ने पो हो कि भन्ने चिन्तामा छन् । ‘भारतीय तटबन्धले हाम्रो जमिन कटान र डुबान हुने सम्भावना बढेको छ,’ उनले भने । भारतले एकलौटी ढंगले बाँध बनाउँदै जाँदा उनी जस्तै अरू किसानमा पनि चिन्ता बढेको छ ।

भारतले आफ्नो भूमिलाई मेची नदीको कटानबाट रोक्न भन्दै तटबन्ध निर्माण अघि बढाएको हो तर त्यसले नेपाली जमिन कटान र डुबान हुने निश्चित हुँदाहुँदै पनि यतापट्टिका स्थानीयदेखि केन्द्रसम्मका कुनै निकायलाई पनि जानकारी गराएको छैन ।

सशस्त्र प्रहरी बलको झापास्थित गणका एसपी रमेशकुमार पाण्डेका अनुसार भारतले राजमार्ग दक्षिणपूर्वको सतिघट्टा र पूर्वोत्तरको नकलबन्दा आसपास क्षेत्रमा तटबन्ध निर्माण गरिरहेको छ । करिब २ वर्षअघि पनि भारतले मेचीनगर-७ नजिक मेची पुलदेखि पूर्व दक्षिण क्षेत्रमा करिब ५ सय मिटर तटबन्ध बनाएको थियो । जसका कारण केही नेपालीका घर र खेतीयोग्य जमिन डुबानमा परेका थिए ।

सतिघट्टा नजिकको सन्थाल र मुस्लिम बस्ती आसपासको करिब ५ सय मिटर तटबन्धका कारण वर्षायाममा नेपाली जमिन डुबानमा पर्ने गरेको छ । तटबन्ध निर्माणपछि नेपाली सुरक्षा संयन्त्रले आपत्ति जनाउँदै भत्काउन भारतीय अर्धसैनिक एसएसबीलाई अनुरोध गरेको थियो ।

तर, भारतले हालसम्म तटबन्ध भत्काएको छैन । ‘एसएसबीले तटबन्ध भत्काउने विषय केन्द्रमा लेखिपठाएको छ तर कार्यान्वयन भएको छैन,’ एसपी पाण्डेले भने, ‘एसएसबीको एकल निर्णयले मात्रै भत्काउन गाह्रो हुने रहेछ ।’

मेची नगर नगरपालिकाका मेयर विमल आचार्यले भारतले सीमा क्षेत्रमा धमाधम तटबन्ध निर्माण गरिरहँदा आफूहरू टुलुटुलु हेर्न बाध्य हुनुपरेको बताए । ‘सीमा क्षेत्रमा हुने भारतीय गतिविधि रोक्न स्थानीय तहलाई कुनै अधिकार दिएको छैन । देखेर पनि नदेखेझैं गर्न बाध्य छौं ।’

भारतले सीमावर्ती क्षेत्रमा बलमिच्याइँपूर्वक निर्माण गरेका संरचनाका कारण खासगरी बर्खायाममा हजारौं नेपालीले सास्ती बेहोरिरहे पनि समस्या सुल्झाउन नेपाल सरकारबाट पनि प्रभावकारी कूटनीतिक पहल हुन सकेको छैन ।

नेपाल पक्षबाट बेलाबेला भएका कूटनीतिक पत्राचार र ध्यानाकर्षणको पनि भारतले बेवास्ता गर्दै आएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।