काठमाडौँ । गत २८ जेठमा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले झापाको बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई एमबीबीएस पढाउन सम्वन्धन दिन मिल्ने वा नमिल्ने निर्णय सात दिनभित्र गरिसक्ने निर्णय गरेको थियो ।

सोही बैठकले त्यसअघि स्थलगत अनुगमनका लागि स्वतन्त्र विज्ञ टोली झापा पठाउने र उसले दिएको प्रतिवेदनका आधारमा अन्तिम निर्णय लिने भनेको थियो । तर, आयोगले निर्णय गरेको १८ दिन पुगिसक्दा प्रतिवेदनको अत्तोपत्तो छैन ।

आयोगको सातौं बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा २८ जेठमा बसे पनि ३० जेठमा माइन्युट तयार गरिएको थियो । दुई दिनअघिको बैठकले गरेको निर्णय अनुसार आयोगले बीएण्डसीको अनुगमन गर्न विज्ञहरुको तर्फबाट प्राडा प्रकाशराज पाण्डेको संयोजकत्वमा विज्ञ डा भोजराज अधिकारी र आयोगका तर्फबाट प्राडा रमेश आचार्य र सेमन्तराज कोइराला सदस्य रहेको चार सदस्यीय टोली पठाउने निर्णय गरेको थियो । उक्त टोली निर्धारित समयभन्दा केही ढिला भए पनि झापा पुगेर फर्किएको थियो ।

एक साताको म्यादमा दुई साता पुग्दा समेत प्रतिवेदनको अत्तोपत्तो नहुँदा आयोगले मंगलबार (हिजो)को बैठकमा प्रतिवेदन आउने अपेक्षा गरेका थिए । तर, त्यो अपेक्षा सफल हुन सकेन । मंगलबारको बैठकले सीसीएमसीको सहमतिपछि ९ साउनदेखि प्रवेश परीक्षा लिने निर्णय मात्रै गरयो ।

आयोग स्रोतका अनुसार वीएण्डसीको इन्स्पेक्सनमा गएका टोली संयोजक प्राडा पाण्डेले अहिलेको अनुगमन टोलीमा ‘इन्ट्रेष्ट’ बाझिने व्यक्ति भएको पछिमात्र थाहा पाएको भन्दै प्रतिवेदनमा हस्ताक्षर गर्न मानेका छैनन् ।

संयोजक रहेका प्राडा पाण्डेले वीएण्डसी संञ्चालक दुर्गा प्रसाई र आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीबीच गतवर्ष भएको विवाद र त्यसपछिको अदालती प्रक्रियामा डा गिरीकै तर्फबाट साक्षी बस्ने व्यक्ति डा भोजराज अधिकारी नै हुन् भन्ने थाहा पाएपछि प्रतिवेदनमा ‘कन्फिल्क्ट अफ इन्ट्रेष्ट’ देखिने भन्दै हस्ताक्षर गर्न नमानेका हुन् । डा पाण्डेले यो विषयमा आफूले कुनै प्रतिक्रिया नदिने बताए ।

‘सुरुमा आयोगका तर्फबाट इन्पेक्सनमा गएका प्राडा आचार्यले डा अधिकारी पहिले झगडियाको साझी बसेको हुँदा विपक्षी झगडियाको इन्फेक्सन गर्ने टोलीमा राखिएको भन्दै प्रतिवेदनमा ‘कन्फिल्क्ट अफ इन्ट्रेष्ट’ बाँझिने भएकाले हस्ताक्षर नगर्ने अडान लिए । त्यो कुरा समितिका संयोजक डा पाण्डेले थाहा पाए । त्यसपछि डा पाण्डेले डा अधिकारीलाई आयोगका उपाध्यक्ष डा गिरीकोतर्फबाट बीएण्डसी कलेजका सञ्चालक दुर्गा प्रसाईसँगको गाली बेइज्जती सम्बन्धि मुद्धामा साक्षी बसे, नबसेको स्पष्ट पार्न आग्रह गरेका थिए ।

त्यसक्रममा डा अधिकारीले आफू उक्त मुद्धामा साक्षी बसेको जवाफ दिएका थिए । सो स्पष्ट भएपछि इन्सफेक्सन टोली संयोजक डा पाण्डेले आफूलाई उपाध्यक्ष डा गिरीले जानाजान विवादमा फसाउन खोजेको भन्दै प्रतिवेदनमा हस्ताक्षर गर्न नमानेका हुन्’, स्रोतले भन्यो ।

आयोगका प्रवक्ता डिल्लीराम लुईटेलले आफूलाई वीएण्डसीको अनुगमन प्रतिवेदन सम्वन्धमा कुनै जानकारी नभएको बताए । ‘यो कुरा गोप्य पनि भयो । यो विषयमा हामीले चासो लिने कुरा पनि भएन । प्रवक्ता भएको नाताले मैले यति भन्न सक्छु प्रतिवेदन आएको छैन ।’

यसै बिषयमा आयोगका उपाध्यक्ष डा गिरी र अनुगमन टोलीका अरु सदस्यसंग सम्पर्क गर्ने प्रयास सफल हुन सकेन । यो समाचार नेपाली हेल्थ डटकममा छ ।