बिर्तामोड । झापामा कोरोना संक्रमितको संख्यामा अझै कमी आउन सकेको छैन । जिल्लामा सात सातादेखि निषेधाज्ञा जारी छ । तर, संक्रमितको संख्यामा कमी आउन नसक्दा जिल्लामा सरदर दैनिक ३ जनाले कोरोनाबाट ज्यान गुमाइरहेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार वैशाखयता असार १३ सम्म कोरोनाको दोस्रो लहरबाट मात्र २ सय १५ जनाको मृत्यु भएको छ । जसमा १ सय ३८ पुरुष तथा ७७ जना महिलाको ज्यान गएको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चम्लागाईंले जनाए ।

कोरोनाको पहिलो र दोस्रो लहरमा गरी जिल्लामा ३ सय ४४ जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म १३ हजार ५ सय ५७ जना संक्रमित भएका छन् । जसमध्ये दोस्रो लहरमा मात्र १० हजार ९ सय ५६ जना संक्रमित भएका हुन् । जिल्लामा सबै उमेर समूहका व्यक्तिमा संक्रमण देखिने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

‘संक्रमण दर बिस्तारै घट्ने क्रममा त छ । तर, सन्तोषजनक भने छैन’, चम्लागाईंले भने, ‘अझै पनि ३२ प्रतिशतमा संक्रमण देखिएको अवस्था छ ।’ उनले संक्रमण फैलिने क्रम अझै नरोकिएकाले नियन्त्रणमा कठिनाइ भएको बताए ।

‘स्वास्थ्य मापदण्ड पालना गरेनौं, संक्रमण हुनबाट जोगिएनौं भने संक्रमित हुनेको अवस्था अझै बढेर नजाला भन्न सकिँदैन’, उनले भने । बजारमा भीडभाड पुनः बढेकाले संक्रमणको जोखिम पनि बढेको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बजारको भीडभाड घटाउन स्थानीय तह र उद्योग वाणिज्य संघहरूलाई कडाइका साथ अनुगमन गर्न आग्रह गरेको बताए ।

कोरोना संक्रमितका लागि जिल्लामा स्थानीय तहसहित ८ सय ७४ बेडको आइसोलेसन, ५ सय बेडको होटल क्वारेन्टाइन, ८१ बेडको आईसीयू, १ सय २३ बेडको एचडीयू उपलब्ध रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका ६६ हजार ६ सय ४६ जनाले कोरोनाको पहिलो तथा ८ हजार ३ सय ५६ जनाले कोरोनाको दोस्रो डोज खोप लगाएका छन् ।

जिल्लामा भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल र कनकाई नगरपालिकास्थित कोटीहोममा एकका लागि एक अभियानले स्थापना गरेको पीसीआर ल्याबबाट कोरोना परीक्षण हुने गरेको छ । कान्तिपुरबाट