अर्जुनधारा । सरोकारवालासँग खाद्य अधिकारको विषयमा सोमबार अर्जुनधारामा अन्तरक्रिया गरिएको छ । मानवअधिकार समूह अर्जुनधाराको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको सहयोगमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
जनतासँग प्रत्यक्ष सरोकार राख्ने अर्जुनधारा नगरपालिकाको पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखा र कृषि विकास शाखाका प्रमुखलाई राखेर समूहले अन्तरक्रिया गरेको हो । समूहका अध्यक्ष चन्द्र सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा कृषि विकास शाखाकी प्रमुख उर्मिला राजवंशीले आफ्नो शाखाको सेवा प्रवाहका बारेमा स्पष्ट पारेकी थिइन् ।
यस्तै, पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदमलाल राईले शाखाले प्रदान गर्ने सेवा र गतिविधिसँगै सहभागीहरुले गरेको प्रश्नको जवाफ दिएका थिए । उनले सकेसम्म सबै सेवाग्राहीलाई सन्तुष्ट हुने गरी शाखाबाट सेवा प्रवाह गरिएको बताए ।
कार्यक्रममा इन्सेक झापाका प्रतिनिधि नरेश खाती, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी, समूहकी सहसचिव सोना गेलाललगायतले शाखाले प्रदान गर्ने सेवाको विषयमा प्रश्न गरेका थिए ।
त्यसैगरी समूहले सोही दिन शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारको विषयमा सम्बन्धित शाखाका प्रतिनिधिहरुको सहभागितामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीयले प्राप्त गर्ने सेवाको विषयमा जवाफदेही निकायलाई जिम्मेवार बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको समूहका नगर संयोजक राजन साम्पाङले बताए ।