झापा । नेपालको लामो पुलमध्येको पूर्व पश्चिम लोकमार्गको कनकाई पुलमा २८ वटा खाल्डो परेको छ । बेलैमा मर्मत नहुँदा सवारी आवतजावतमा समस्या हुन थालेको छ ।
झापाको कनकाई र शिवसताक्षी नगरपालिकाको सीमामा रहेको कनकाई नदीको सो पक्की पुल ७०३ मिटर लामो छ । पुलको पश्मिम भागतिर साना र ठूला गरी २८ वटा खाल्डा छन् ।
दैनिक हजारौं सवारी साधन गुड्ने मुख्य लोकमार्गको यति महत्वपूर्ण पुलको बेलैमा मर्मत नगरिनु लापर्वाही भएको र कुनै पनि बेला त्यहाँ दुर्घटना हुनसक्ने सम्भावना छ ।
सडक डिभिजन कार्यालय दमकका प्रमुख रमेश पौडेललाई कनकाई पुलको अवस्था बारेमा ध्यानाकर्षण गराउँदा चाँडै मर्मत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हाल पूर्व पश्चिम लोकमार्गकै रतुवा पुलमाथि परेका खाल्डाखुल्डी पुर्ने काम भइरहेको उनले बताए ।
‘पुल तथा सडकको मर्मत सम्भार नियमित भइरहेकै छ’, उनले भने, ‘कनकाई पुलको मर्मत पनि तीन चार दिन भित्रैमा गर्नेछौं ।’
उनका अनुसार ठूला समस्या भएको स्थानमा ठेक्का लगाएर काम गर्ने गरे पनि सानातिना मर्मत सम्भारका कार्य कार्यालय आफैँले जनशक्ति खटाएर गरिरहेको छ ।
सडक तथा पुल मर्मतका लागि चालु आर्थिक बर्षमा रु १० करोड बजेट आएको उनले जानकारी दिए । कोरोना महामारीका कारण लामो अवधिसम्म निषेधाज्ञा जारी हुँदा लोकमार्गमा यातायात ठप्प थियो । पुलको मर्मत सम्भार गर्ने त्यस्तो उपयुक्त अवसरको समेत सडक डिभिजन कार्यालयले सदुपयोग गर्न सकेन ।
कनकाई पुल विसं २०२८ सालतिर बनेको हो । केही वर्ष अघिसम्म यो पुल नेपालकै सबैभन्दा लामो मानिन्थ्यो ।