झापा । बिर्तामोड नगरपालिकामा करेन्ट लागेर विद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड ४ स्थित जात्रुबाडी बस्ने ६१ बर्षीय कुलबहादुर भट्टराई रहेका छन् । अनारमनी बितरण केन्द्र विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी भट्टराईको बुधबार बिहान साढे ७ बजे बिर्तामोड ८ बाह्रबिघे स्थित रामकुमारी दर्जीको घरमा मिटर जडान गर्ने क्रममा करेनट लागेको थियो ।

मिटर जोड्नका लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागि भुइँमा लडेका थिए । भुइँमा टाउको बजारिँदा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको प्राधिकरण अनारमनी वितरण केन्द्रका प्रमुख संजयकुमार गुप्ताले बताए ।

मृतकको लाशलाई पोष्टमार्टमको लागि मेची अस्पताल पठाइएको उनले जानकारी दिए । घटना सम्बन्धि इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।