अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा स्क्रब टाइफसका एक जना बिरामी फेला परेका छन् । अर्जुनधारामा स्क्रब टाइफसका बिरामी फेला परेको पहिलो पटक हो ।
अर्जुनधारा ७ निवासी ३१ वर्षीय पुरुषको स्वास्थ्य परीक्षण गर्दा स्क्रब टाइफस पोजेटिभ आएको हो । अर्जुनधाराको शनिश्चरे अस्पतालमा परीक्षण गर्दा स्क्रब टाइफस पोजेटिभ देखिएको ल्याव टेक्निसियन केशव अधिकारीले जानकारी दिए ।
दुई पटकसम्म परीक्षण गर्दा पनि पोजेटिभ आएका उनलाई शरीरमा देखिने दागको लक्षण भने नपाइएको बताइएको छ । स्क्रब टाइफसका बिरामी फेला परेको अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले स्वास्थ्य कार्यालय झापालाई जानकारी गराइसकेको फोकल पर्सन मुकुन्द बस्नेतले बताए ।
डेंगु रोगको जस्तै लक्षण भएको स्क्रब टाइफस एक सरुवा रोग हो । मुसामा हुने किर्नाबाट सर्ने यो रोगलाई नेपाल सरकारले महामारी रोगको सूचीमा राखेको छ ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले ती व्यक्तिमा एन्टिबडी पोजेटिभ आएको जानकारी दिए । उनका अनुसार संक्रमित व्यक्तिको शरीर एन्टिबडी पनि भइसकेको हुन सक्छ । उनलाई पहिले नै संक्रमण भएर पनि अहिलेको परीक्षण पोजेटिभ आएको हुनसक्ने उनले बताए ।
झापा जिल्लामा स्क्रब टाइफसको बिरामी फेला परेको यो चौथो पटक हो । यसअघि गतवर्ष मेचीनगर, दमक र कमल गाउँपालिकामा फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
फोकल पर्सन चौलागाईका अनुसार अर्जुनधाराको घटनाबारे माथिल्लो निकायमा जानकारी गराइएको छ । केस कन्फर्म भएपछि आवश्यक काम अघि बढाइने भएको छ । बिरामीमा कुनै समस्या नरहेको बताइएको छ ।
संक्रमित व्यक्तिलाई दुई दिनपछि पुनः स्वास्थ्य परीक्षणका लागि बोलाइएको ल्याव टेक्निसियन अधिकारीले बताए । अहिले उनको शरीरमा २ लाख १० प्लेटलेट्स रहेको छ । उक्त प्लेटलेट्सको संख्या घटेको खण्डमा स्क्रब टाइफस शरीरमा सक्रिय रहेको पत्ता लाग्नेछ ।
बिरामीमा कोरोना भाइरसको लक्षण देखिए पनि उनी संक्रमित नभएको स्वास्थ्यकर्मीले बताएका छन् । स्वाद र गन्ध थाहा नपाउने लक्षण रहे पनि एन्टिजेन परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।